शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङ प्रशासनको अपील : जुवाजन्य खेलमा प्रतिबन्ध, अखाद्य बस्तुहरु बिक्रि गरे कडा कारबाही गरिने

खोटाङ प्रशासनको अपील : जुवाजन्य खेलमा प्रतिबन्ध, अखाद्य बस्तुहरु बिक्रि गरे कडा कारबाही गरिने

रोदिक खबर

१२, आश्विन २०८२
  • 1.8K
    SHARES
  • खोटाङ प्रशासनको अपील : जुवाजन्य खेलमा प्रतिबन्ध, अखाद्य बस्तुहरु बिक्रि गरे कडा कारबाही गरिने

     खोटाङ । चाडपर्व नजिकिँदै गर्दा खोटाङ जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई मनोरञ्जनका नाममा जुवातास नखेल्न/नखेलाउन आग्रह गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सात बुँदे सूचना जारी गर्दै दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वमा अनावश्यक गतिविधि नगर्न चेतावनी दिएकी हुन्।

    सूचनामा दैनिक उपभोग्य सामग्रीमा कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र म्याद नाघेका अखाद्यवस्तु बिक्रीजस्ता उपभोक्ताविरोधी कार्य नगर्न आग्रह गरिएको छ ।

    त्यस्तै सार्वजनिक स्थलमा भिडभाड, झगडा नगर्न, सवारीसाधन क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भाडाभन्दा बढी असुल नगर्न, मादकपदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पालना गर्न भनिएको छ ।

    यात्रा गर्दा समस्या परेमा यात्रु सहायता कक्ष वा नजिकको प्रहरी एकाइमा सम्पर्क गर्न ९८५२८४९३२२ नम्बर उपलब्ध गराइएको छ ।

    मनसुनी वर्षाका कारण बिग्रिएका सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

    शङ्कास्पद गतिविधि देखिएमा प्रहरी एकाइ वा फोन नं १०० र ९८५२८४९३२२ मा खबर गर्न आग्रह गरिएको छ ।

    तर प्रशासनको निर्देशन विपरीत जिल्लामा सञ्चालित सवारीसाधनले बढी भाडा असुल्ने गरेको यात्रुहरूको गुनासो छ ।

    टिकट दिए पनि बढी पैसा लिने गरेका व्यवसायीहरूविरुद्ध प्रमाणसहित उजुरी परे आफैँ कारबाही गर्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताएका छन् ।

    जिल्लामा करिब तीन हजार सवारीसाधन सञ्चालनमा रहेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । मध्यपहाडी र सगरमाथा राजमार्गसँग जोडिएका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा आबद्ध छन् ।

    विसं २०६४ मा नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको सवारीले यातायात सेवा सुरु भएको खोटाङमा अहिले यातायात प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ।

    तर ग्रामीण सडकमा सञ्चालित धेरै सवारीसाधन अझै रुट परमिटविहीन छन् । कानुन अनुसार अनिवार्य रुट परमिट नभएका सवारी दुर्घटनामा यात्रुले क्षतिपूर्ति नपाउने प्रावधान रहेकाले प्रशासनले सचेत रहन आग्रह गरेको छ।

    प्रकाशित मिति :आश्विन १२, २०८२ आइतवार - ०७:१५:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको