शुक्रवार, भाद्र २६ गते २०८३

दशैमा माईती- मावल जाने ४३६ जना छोरीचेलीलाई खोटाङका युवाहरुले दिए निःशूल्क यातायात सेवा

दशैमा माईती- मावल जाने ४३६ जना छोरीचेलीलाई खोटाङका युवाहरुले दिए निःशूल्क यातायात सेवा

रोदिक खबर

२१, आश्विन २०८२
  • 1.0K
    SHARES
  • दशैमा माईती- मावल जाने   ४३६ जना छोरीचेलीलाई   खोटाङका युवाहरुले दिए निःशूल्क यातायात सेवा

    खोटाङ । युवाहरुको यस्तो एउटा अभियान, जहाँ समस्यामा परेका महिलाहरुले निःशूल्क यातायात सेवा पाए ।

    दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनबाट गन्तव्यसम्म पुग्न सके । तर, उनीहरुलाई कुनै शूल्क लागेन । 

    सवारी साधन पाउन नसकेर समस्यामा परेका, वृद्ध र विपन्न अवस्थाका चेलीलाई लक्षित गर्दै खोटाङका युवाहरुले सञ्चालन गरेको यो अभियानले दसैँ अवधिभर ४ सय ३६ जनालाई सेवा दिएका छन् ।

    ‘दसैँ तिहार, चेलीलाई उपहार’ नामक यस अभियान खोटाङका युवाहरुले अघिल्लो वर्षबाट सुरु गरेका थिए ।यो वर्ष पनि निरन्तरता पाएको यस अभियानले दसैँमा माइती मावली जानआउन समस्यामा परेका चेलीहरुलाई ठुलो राहत प्रदान गरेको छ ।

    तिहारमा पनि यस अभियानलाई निरन्तरता दिने जिल्ला संयोजक सञ्जय कुमार राईले बताए । खोटाङबाट सुरु भएको युवाहरुको यो निश्वार्थ अभियान भोजपुर र सङ्खुवासभा जिल्लामा पनि सुरु भएको छ ।

    खोटाङमा यस वर्ष जिल्ला सदरमुकाममा रहेको टिमले मोटरसाइकलबाट २०५ जनालाई सेवा दिएका छन् । चार पाङ्ग्रे सवारी साधनबाट ९० जना समस्यामा परेका महिलाहरु गन्तव्यसम्म पुगेका छन् ।

    यस्तै, सबिन राईको संयोजकमा रहेको केपिलासगढी गाउँपालिकाको टिमले ७५ जना, रम्बोहाङ राईको संयोजकमा रहेको हलेसी तुवाचुङ नगरपालिकाको टिमले २२ जना, विशाल राईको संयोजकमा रहेको रावा बेसी गाउँपालिका टिमले २३ जना र आदेश थापाको संयोजकमा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टिमले २१ जनालाई सेवा दिएको जिल्ला संयोजक राईले बताए । 

    प्राय सबै गाउँघरमा सडक पुगेको भएपनि सबैसँग सवारी साधन चड्ने क्षमता नभएको, सवारी साधनले पनि चाडबार्डको समयमा बढी भाडा लिने गरेको लगायतका समस्याहरुलाई मध्यनजर गरेर युवाहरुले स्वतःस्फुर्त यो अभियान सञ्चालन गरेका हुन् ।

    निस्वार्थ भावना भएका, समाज सेवा गर्न इच्छुक युवाहरुले ‘दसैँ तिहार, चेलीलाई उपहार’ अभियानमा जोडिएर सेवा दिएको जिल्ला संयोजक राईले बताए ।

    समस्यामा परेका चेलीहरुलाई निःशूल्क यातायात सेवाका लागि सम्पर्क गर्न सचिवालय निर्माण गरिएको थियो । त्यहाँ सम्पर्कमा आएका महिलाहरुलाई सेवा दिइएको उनको भनाइ छ ।

    सरकारी सुविधा प्राप्त, सवारी साधन भएको घर र बहालवाला जनप्रतिनिधिले निःशूल्क यातायात सेवा नपाउने नियम युवाहरुले बनाएका थिए । आफै भाडा तिरेर गन्तव्यसम्म जाने क्षमता भएका त्यस्ता ब्यक्तिहरुलाई भने निःशूल्क सेवा उपलब्ध थिएन ।

    दसैँमा टिकाको दिन असोज १६ गतेदेखि १९ गतेसम्म उक्त अभियान सञ्चालन गर्ने युवाहरुले घोषणा गरेका थिए । तर, समस्यामा परेको भन्दै सम्पर्कका आएकाहरुलाई २१ गतेसम्म सेवा प्रदान गरेको संयोजक राईले बताए ।

    तिहारमा उक्त अभियान कात्तिक ५ देखि ७ गतेसम्म सञ्चालन गर्ने तयारी युवाहरुको छ ।  

    युवाले माइती जाने चेलीहरुलाई करिब ३५ किलोमिटर दुरीसम्मको माईती घर पु¥याउने र ल्याउने गरि सेवा सुरु गरे पनि कतिपय समस्यामा परेकाहरुलाई त्यो भन्दा लामो दुरीसम्म पुगेर सेवा दिएको युवाहरुको भनाइ छ ।

    स्वतःस्फुर्त यस अभियानमा जोडिएर निःशूल्क यातायात सेवा दिएका युवाहरुलाई केही ब्यक्तिहरुले इन्धन सहयोग गरेका छन् । सवारी साधन मर्मतमा पनि युवाहरुले सहयोगको अपेक्षा गरेको जनाएका छन् ।

    प्रकाशित मिति :आश्विन २१, २०८२ मंगलवार - २०:२४:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको