खोटाङ, ३१ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पूर्व तथा वर्तमान कार्यपालिका सदस्यलाई तीन पुस्ते सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको छ ।
राज्यकोषबाट सेवासुविधा लिइरहेका राजनीतिकर्मी तथा जनप्रतिनिधिले आफूलाई पारदर्शी बनाउन नसक्दा नैतिक प्रश्न उठिरहेको भन्दै नगरपालिकाले वर्तमान तथा पूर्व कार्यपालिका सदस्यसहित ५५ जनालाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको हो ।
१५ वडा रहेको नगरपालिकाका २५ जना वर्तमान कार्यपालिका सदस्य र २५ जना पूर्व कार्यपालिका सदस्यलाई सम्पत्ती विवरण बुझाउनका लागि असोज २९ गते पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण खवासले बताए ।
नगरपालिकाले नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, पूर्व नगरप्रमुख दिपनारायण रिजाल, पूर्व उपप्रमुख बिणादेबी राई लगायतलाई आगामी कात्तिक १५ गतेभित्र सम्पति विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।
वर्तमान तथा पूर्व जनप्रतिनिधिसँगै उनीहरुका सचिवालयका कर्मचारीलाई पनि सम्पत्ती विवरण बुझाउन भनिएको छ । नगरप्रमुख भट्टराईले भने निर्वाचित भएको महिना दिन नपुग्दै पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका थिए ।
असोज २८ गते बसेको नगरकार्यपालिका बैठकले नगरपालिकाका जनप्रतिनिधिहरुको सम्पति विवरण सार्वजनिक गरी आफूलाई नेपालकै पहिलो पारदर्शी स्थानीय तहको जनप्रतिनिधिको रुपमा परिचित गराउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार तीन पुस्ते जग्गा, घर, सेयर, सुन, चाँदी, हिरा, मोति, गरगहना, नगद, गाडी, मोटरसाईकल वा अन्य चलअचल सम्पतिको विवरण बुझाउन पत्राचार गरिएको हो ।
नगरपालिकामा बुझाइएको तीन पुस्ते सम्पति विवरण भविष्यमा तलमाथि भए स्वयं जवाफदेही हुनुपर्ने पत्रमा भनिएको छ । नगरका राष्ट्रसेवक कर्मचारीलाई पनि सम्पत्ती विवरण बुझाउन भनिएको नगरप्रमुख भट्टराईले बताए ।