खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटेमा अक्षयकोषको संख्या १५ पुगेको छ।
विद्यालयको ६५ औं वार्षिक उत्सव तथा १४ औं अक्षय कोष दिवसका अवसरमा बिहीबार थप दुईवटा अक्षयकोष खडा गरिएपछि १५ वटा अक्षयकोष भएको हो ।
निधन भएकाको स्मृतिमा ५० हजारको स्वर्गीय दीर्घराज–चिनिमाया राई अक्षय कोष र ५१ हजार ५५५ रुपैयाँको स्वर्गीय भक्तकुमार राई स्मृति अक्षयकोष, आफन्तहरुले खडा गरिदिएपछि विद्यालयमा १५ वटा अक्षयकोष भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजीमान राईले जानकारी दिए ।
उक्त विद्यालयमा सबैभन्दा पहिला २०६८ सालमा २ लाख ६६ हजारको स्वर्गीय मनमाया राई स्मृति अक्षयकोष खडा गरिएको थियो।
यही अक्षयकोषलाई ६५ औं वार्षिक उत्सवको अवसरमा नाम परिवर्तन गरी स्वर्गीय श्यामशिला तिलबहादुर राई अक्षयकोष बनाएर आफन्तहरुले १ लाख ५० हजार रकम थप गरेका छन् ।
यस्तै, स्वर्गीय आमाछोरा स्मृति अक्षयकोषमा आफन्तहरुले ३३ हजार रकम थपेर १ लाख १ हजार पुर्याएका छन् । अक्षयकोष खडा गर्ने अभिभावकहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले कदरपत्र प्रदान गरेका थिए ।
विद्यालयमा सञ्चालित पुरानो १३ वटा अक्षयकोषको व्याजबाट १८ जना जेहेन्दार, दलित विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको प्रधानाध्यापक ज्ञानेन्द्रकुमार राईले बताए ।
प्रअ राईका अनुसार विद्यालयको १५ वटा अक्षयकोषको पुँजी २० लाख बढी पुगेको छ । वार्षिक उत्सवको अवसरमा प्रावि तहको छात्रहरुको रिले दौड, छात्राहरुको बेलुन फुटाई र शिक्षक/शिक्षिकाकोे म्युजिकल चियर प्रतियोगिता भएको छ ।
नगरपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता पनि आजैबाट सुरु भएको छ । ११ टिमले सहभागिता जनाएको भलिबल प्रतियोगितामा नुनथलालाई हराउँदै नेर्पाले विजयी सुरुवात गरेको छ ।
यसैगरी,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मावि स्तरीय खुल्ला नृत्य प्रतियोेगितामा १५ वटा मावि सहभागिताका लागि सम्पर्कमा आएका छन्।
नृत्य प्रतियोगिता २९ गते हुनेछ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले शैक्षिक क्षेत्र पछाडि पर्दै गएकाले त्यसतर्फ ध्यान नदिए भाइबहिनीहरु विदेश पलायन नरोकिने बताए ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई लगायतको उपस्थिति थियो ।