खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले जेष्ठ नागरिकहरूलाई स्वस्थ प्रवर्द्धन औषधि निशुल्क वितरण गरेको छ । जेष्ठ नागरिक संघ खोटाङको समन्वयमा बुधवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले दिक्तेलको कर्ममन्दिर परिषरमा एक कार्यक्रमकावीच ८० जना जेष्ठ नागरिकलाई अश्वगन्धा र आमलक्कीचुर्ण नामक स्वस्थ प्रवर्द्धन औषधि वितरण गरेको हो ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि, दीर्घरोगको जोखिम न्यूनिकरण तथा सक्रिय जीवनशैलीलाई प्रोत्साहित गर्ने उद्देश्यसहित केन्द्रले निःशुल्क औषधि वितरण गरेको केन्द्रका प्रमुख डा. सरबिन्द्र प्रसाद यादवले बताए ।
कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरूलाई आयुर्वेदिक पद्धतिमा आधारित रोगप्रतिकारक औषधिसहित आवश्यक परामर्शसमेत प्रदान गरिएको जनाएको छ ।
नियमित आयुर्वेदिक उपचार, योग, आहार–विहार र स्वस्थ बानी सम्बन्धी परामर्शले स्वास्थ्यमा दिगो सुधार हुने विश्वास व्यक्त गरिएको छ। पछिल्लो समय आयुर्वेद स्वास्थ्य सेवाप्रति जनविश्वास बढ्दै गएको पाईन्छ ।



