• ट्रेण्डिङ:

बदाम फलाउने कृषकलाई नगरपालिकाद्वारा १२ लाख बढी प्रोत्साहन रकम प्रदान

बदाम फलाउने कृषकलाई नगरपालिकाद्वारा १२ लाख बढी प्रोत्साहन रकम प्रदान

रोदिक खबर

२८, मंसिर २०८२
  • 1.3K
    SHARES
  • बदाम फलाउने कृषकलाई नगरपालिकाद्वारा  १२ लाख बढी प्रोत्साहन रकम  प्रदान

    बदाम फलाउने कृषकले उत्पादनको आधारमा १२ लाख बढी प्रोत्साहन रकम पाएका छन् । ५ मुरी तथा सो भन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आइतबार प्रोत्साहन रकम प्रदान गरेको हो ।

    कृषकहरुलाई बदाम उत्पादनमा हौसलाका लागि नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो ।

    यस वर्ष हलेसी तुवाचुङ नगरपालिकामा २ सय ६१ किसानले ३ हजार १ सय २८ मुरी बदाम उत्पादन गरेका छन् ।

    उत्पादनको आधारमा नगरपालिकाबाट किसानले १२ लाख ४ सय रकम प्रोत्साहनस्वरुप पाएका हुन् ।

    सुरुमै अनुदान दिनु भन्दा उत्पादनका आधारमा प्रोत्साहन रकम दिदा बास्तबिक किसानले प्राप्त गर्ने भएकाले नगरपालिकाले यो नीति लिएको नगरप्रमुख विमला राईले बताईन ।  अघिल्लो वर्षबाट नगरपालिकाले बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गर्न सुरु गरेको हो ।

    अघिल्लो वर्ष २०८१ मा १ सय ५८ किसानले ६ लाख ३२ हजार ९ सय प्रोत्साहन रकम पाएका थिए । प्रोत्साहन रकम पाउने भएपछि यस वर्ष बदाम उत्पादन गर्ने किसान थपिएको नगरपालिकाले जनाएको छ ।

    अघिल्लो वर्ष नगरपालिकामा १ हजार ५ सय ८३ मुरी अर्थात ४७ मेट्रिक्टन बदाम उत्पादन भएकोमा यस वर्ष ९३.८४ मेट्रिक्टन बदाम उत्पादन भएको कृषि प्राविधिक रबिन राउतले बताए ।

    हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर २ डिकुवा, ५ दुर्छिम, ७ महादेवस्थान, ८ धितुङ र ११ राजापानीमा बदाम उत्पादनहुँदै आएको छ ।

    दुर्छिमका १३ किसान, महादेवस्थानका ४३ र धितुङका १ सय ५८ किसानलाई आइतबार नगरपालिकामा प्रोत्साहन रकम प्रदान गरिएको हो ।

    डिकुवाका २४ र राजापानीका २४ किसानलाई वडामै पुगेर प्रोत्साहन रकम प्रदान गरिने बताइएको छ ।

    यस वर्ष सबै भन्दा धेरै धितुङका गोपाल बुढाथोकीले ४१ मुरी बदाम उत्पादन गरेर १३ हजार ३ सय प्रोत्साहन रकम पाएक छन् ।

    नगरपालिकाले प्रोत्साहन रकम दिएपछि अघिल्लो वर्ष भन्दा यस वर्ष आफुले बदाम उत्पादनमा वृद्धि गरेको बुढाथोकी बताउछन् ।

    ५ मुरी बदाम फलाउने किसानलाई नगरपालिकाले २ हजार ५ सय प्रोत्साहन रकम प्रदान गर्ने कार्यविधि बनाएको छ । सो भन्दा बढी फलाउने किसानले प्रत्येक मुरीको ३ सयका दरले रकम पाउने छन् ।

    हलेसी तुवाचुङ नगरपालिकामा उत्पादन भएका बदाम जिल्लाका सबै ठाउँ र जिल्ला बाहिर छिमेकी जिल्लाका बजारमा समेत पुग्ने गरेको छ ।

    त्रिधार्मिक स्थल हलेसीमा विश्वका मानिसहरु आउने भएकाले बदामको बजारीकरणमा समस्या छैन् । व्यावसायिहरुले किसानका घरबाटै बदाम खरिद गरेर लाने गरेका छन् ।

    बदाम हलेसीको कोसेलीकोरुपमा पनि मानिसहरुले लाने गरेका छन् । जसकारण बदामको प्रवद्र्धनकोलागि नगरपालिकाले उत्पादनमा आधारित रकम प्रदान गर्न सुरु गरेको नगरप्रमुख विमला राईले बताइन ।

    प्रकाशित मिति :मंसिर २८, २०८२ आइतवार - २०:११:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको