दिक्तेलको भानु चोकमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माण गरिने

दिक्तेलको भानु चोकमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माण गरिने

रोदिक खबर

४, पौष २०८२
  • 2.5K
    SHARES
  • दिक्तेलको भानु चोकमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माण गरिने

    खोटाङ । दिक्तेल बजारको भानु चोकमा स्थापित आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माण गरिने भएको छ । लामो समयदेखि जीर्ण अवस्थामा पुगेको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनःनिर्माणको काम अघि बढाइएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिए ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेपछि टेन्डर प्रक्रियामार्फत सालिक पुनःनिर्माण सहित बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको हो ।

    प्रमुख दाहालका अनुसार सालिक जीर्ण अवस्थामा पुगेको र सडकको बीच भागमै रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासीले हालको स्थानभन्दा केही पर सारेर पुनःनिर्माण गर्न माग गरेकाले सालिकलाई सुरक्षित र उपयुक्त स्थानमा सारेर आधुनिक स्वरूपमा पुनःनिर्माण गर्न लागिएको हो ।

    साहित्यिक चेतना र राष्ट्रिय पहिचानको प्रतीकका रूपमा रहेका आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माणसँगै भानु चोक क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने योजनाअनुसार टेन्डर प्रक्रियाबाट सुदेवी कन्स्ट्रक्सन निर्माण सेवाले कामको जिम्मा लिई निर्माण कार्य सुरु गरिसकेको दाहालले बताए । सालिक निर्माणसँगै जिल्ला प्रहरी कार्यालयको गेट अगाडिदेखि भानु चोक हुँदै लोकसेवा आयोगको कार्यालयदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडकको काम पनि गरिनेछ ।

    दिक्तेल बजारलाई व्यवस्थित बनाउने कार्यक्रमअन्तर्गत भानु चोक क्षेत्रको संरचना व्यवस्थापन तथा सौन्दर्यकरणका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणको काम पनि अघि बढाइने भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका इन्जिनियर रजत पोखरेलले जानकारी दिए । उनका अनुसार यसबाट दिक्तेल बजारको ऐतिहासिक, साहित्यिक तथा पर्यटकीय महत्व थप उजागर हुने अपेक्षा गरिएको छ ।

    यद्यपि, सालिक भत्काउने क्रममा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य नगरेको भन्दै केही निकाय तथा व्यक्तिहरूले आपत्ति जनाएका छन् ।

    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - २१:१०:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको