खोटाङ । रोजगारीका लागि कतारमा रहेका युवाले विद्यालयलाई डस्विन (फोहर संकलन डब्बा) वितरण गरेका छन् ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका १६ जना प्रवासी युवाको सामूहिक पहलमा २९ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन गरि १६ सेट डस्विन वितरण गरेका हुन् ।
विद्यालयमा हुने फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले डस्विन वितरण गरिएको अस्विन राउतले जानकारी दिए ।
राउतका अनुसार खोटेहाङ गाउँपालिकाका लक्ष्मी माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय, महंकला आधारभूत विद्यालय, संघीय प्राथमिक विद्यालय, रमाइलो प्रारम्भिक बाल शिक्षा केन्द्रलाई दुई/दुई सेट डस्विन (फोहर संकलन डब्बा) वितरण गरिएको हो ।
यस्तै, बराहपोखरी गाउँपालिकामा शंखेश्वरी मन्दिर बाराहापोखरीका लागि दुई सेट तथा बालकन्या माध्यमिक विद्यालय धर्तुङका लागि दुई सेट डस्विन वितरण गरिएको छ ।
डस्विन वितरणका लागि वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका भुवन खड्का, दिलीप श्रेष्ठ, अस्विन राउत, सन्तोष श्रेष्ठ, भूमिराज राई, किशोर बिक, पुष्प खड्का, सुदिप राउत, विक्रम राउत, पारस राया, दिपेन राई, यादव पोख्रेल, राजु श्रेष्ठ, किशाेर बिक, पुष्पा खड्का र किस्नु खड्काबाट रकम संकलन गरिएको जनाईएको छ ।
प्रवासी युवाहरूले विदेशमा रहँदा पनि आफ्नो जन्मभूमि र समुदायप्रतिको जिम्मेवारी बोध गर्दै शिक्षा र सरसफाइ क्षेत्रमा योगदान पुर्याएको भन्दै स्थानीयले प्रशंसा गरेका छन् ।