खोटाङ,११ दिक्तेल । सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर हलेसी गुल्मको २५ औं स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
गुल्मले अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीको शीघ्र स्वास्थ्यलाभको कामनासहित २० जना विरामीलाई शुक्रबार फलफूल वितरण गरेको हो।
बिरामी र उनका आफन्तसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मनोबल उच्च बनाउने उद्देश्यले फलफूल वितरण गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र न्यौपानेले बताए।
कार्यक्रममा सशस्त्र प्रहरी बल ७ नम्बर हालेसी गुल्म दिक्तेलका प्रमुख तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
जिल्ला अस्पताल दिक्तेलले सशस्त्र प्रहरी बलको यस मानवीय पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक गतिविधिले सुरक्षा निकाय र सर्वसाधारणबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
सशस्त्र प्रहरी बल ७ नम्बर हलेसी गुल्म दिक्तेलले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ।