खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको छैटौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माध्यमिक विद्यालयले जितेको छ ।
७ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित नगरपालिका भित्रको माध्यमिक विद्यालय स्तरीय उक्त प्रतियोगिताको उपाधि धितुङस्थित बुलापन्थे माविले जितेको हो ।
खेल क्षेत्रमा रचि राख्ने विद्यार्थीहरुको लागि महत्वपूर्ण मानिएको माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २६ गतेदेखि २८ गतेसम्म अर्खौले विजुलेस्थित साल्पा खेलमैदानमा सञ्चालन भएको थियो ।
हलेसी तुवाचुङ नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको उक्त प्रतियोगिताको दोस्रो दुर्छिम मावि भएको छ ।
६ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित दुर्छिम मावि दोस्रोहुँदा ५ स्वर्ण, ३ रजत र १ कास्य पदकसहित पीपलडाडा देवीस्थान मावि मंगलटार तेस्रो भएको व्यवस्थापकीय विद्यालयका प्रधानाध्यापक नविन चाम्लिङले जानकारी दिए ।
यस अघि लगातार तीन वर्षको उपाधि पीपलडाँडाले जितेर शिल्ड आफ्नो बनाएको छ । नयाँ शिल्डसहित आयोजना भएको यस वर्षको उपाधि बुलापन्थेले आफ्नो पोल्टामा पारेको हो ।
भलिबल, कबड्डि र एथलेटिक्सका १५ इभिण्डमा ३० स्वर्ण, ३० कास्य र ३० रजत पदकको लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा पालिका भरीका १२ सामुदायिक र एक संस्थागत गरी १३ विद्यालयले सहभागि जनाएका थिए ।
यस्तै, ३ स्वर्ण, ५ रजत र २ कास्य पदकसहित महेन्द्रोदय मावि चौथो भएको छ ।
३ स्वर्ण, १ रजत, २ कास्यसहित लक्ष्मी मावि बडहरे पाचौँ, २ स्वर्ण, ७ रजत र ५ कास्यसहित ज्योति मावि राजापानी छैटौँ, २ स्वर्ण, ३ रजत र २ कास्यसहित च्यास्मीटार मावि आठौं, १ स्वर्ण, ४ रजत र ४ कास्यसहित सरस्वती मावि अर्खौले नवौँ, १ स्वर्ण र १ रजतसहित जनता मावि सल्ले दसौँ, ३ कास्य पदकसहित कालिका मावि बाहुनीडाँडा एघारौँ, समान १ कास्य पदकसहित मालिकादेवी मावि कदुवा र हलेश्वर इङिलस बोर्डिङ स्कुल हलेसी बारौँ भएका छन् ।
दाम्ली मावि दाम्लीले कुनै पनि पदक ल्याउन सफल नभएको प्रधानाध्यापक चाम्लिङले बताए । प्रथम हुने बुलापन्थे माविले नगद शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २५ हजार पाएको छ ।
यस्तै, दोस्रो हुने दुर्छिम मावि र तेस्रो हुने पीपलडाँडा माविले नगद १५ र १० हजारकोसाथमा ट्रफी, मेडल, प्रमाणपत्र पाएको नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुरेश निरौलाले बताए ।
विद्यागत विजेता खेलाडी विद्यार्थीहरुले प्रमाणपत्र र मेडल पाएका उनको भनाइ छ । प्रतियोगिताको उद्घाटन नगरपालिकाका नगरप्रमुख विमला राईले गरेकी थिइन् भने पुरस्कार वितरण उपप्रमुख रमेश कुमार राउतले गरेको बताइएको छ ।
सहभागि सबै विद्यालयलाई यातायात, खाना र बासको लागि दुरीको हिसाबले खर्च प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन १५ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।