शुक्रवार, भाद्र २६ गते २०८३

आज सोनाम ल्होसार, घोडा वर्ष सुरु

आज सोनाम ल्होसार, घोडा वर्ष सुरु

रोदिक खबर

५, माघ २०८२
  • 1.6K
    SHARES
  • आज सोनाम ल्होसार,  घोडा वर्ष सुरु

    काठमाडौँ : तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन्।

    सोनाम ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ।

    आज सर्प वर्ष समाप्त भई घोडा वर्ष प्रवेश भएको छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

    ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिनु तामाङ समुदाय प्रकृतिपूजक रहेको सङ्केत भएको अनुसन्धाता टीका शेर्पाले बताएका छन्।

    तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाइने जनाएको छ।

    यसैगरी नेपाल तामाङ घेदुङले टुँडिखेलमा शनिवारदेखि तीन दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रम सुरु गरेको छ। राजधानीको स्वयम्भू क्षेत्रमा पनि विशेष कार्यक्रमसहित सोनाम ल्होसार मनाइँदै छ।

    करिब ४ हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मङ्गोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुरलगायत देशहरूमा पनि मनाइन्छ। नेपालमा तामाङ समुदायसँगै ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत सोनाम ल्होसार पर्व मनाउने गर्दछन्।

    यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ। महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ।

    साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ।

    प्रकाशित मिति :माघ ५, २०८२ सोमवार - ०६:४०:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको