खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि अस्पताल पुऱ्याएको छ ।
नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको 'स्क्रीनिङ'का क्रममा पहिचान गरिएका पाठेघर खसेका ३६ जनामध्ये पहिलो चरणमा १८ जनालाई उपचारका लागि अस्पताल लगिएको हो ।
शल्यक्रीयलगायतका निःशुल्क उपचार गर्ने व्यवस्था सहित बिहीबार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ ।रोग पहिचान भई सकेका बाँकी १८ जनालाई पनि उपचारका लागि चाडै उपचारका लागि लगिने नगरपालिकाले जनाएको छ ।
अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलव्ध गराउनेगरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वस्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।
पाठेघर खसेर तेश्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रीया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई अस्पताल लगिएको हो । विगत तीन–चार वर्षदेखि नगरपालिकाले पाठेघर खसेका लगायत संवेदनशील प्रजनन स्वास्थ्य समस्याबाट पीडित महिलाहरूलाई निरन्तर सहयोग गर्दै आएको छ।
समाजमा लाज, डर र अज्ञानताका कारण धेरैजसो महिलाहरूले आफ्नो समस्या लुकाएर बस्न बाध्य हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले गाउँ–टोल–बस्तीस्तरमै पुगेर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको थियो।
नगरपालिकाका अनुसार नागरिकको स्वास्थ्य, सम्मानजनक जीवन र सुरक्षित उपचार सुनिश्चित गर्नु नै स्थानीय सरकारको प्राथमिकता हो ।
बिरामीका साथमा नगरप्रमुख तीर्थराज भट्टराई, कार्यपालिका सदस्य मिना कार्की, दिक्तेल रूपाकोट नगरपालिका १ नम्बर वडाका वडा सदस्य बलराम आचार्य, स्वस्थ्य शाखा प्रमुख खेमराज आचार्यको टोलि पनि गएको जनाईएको छ ।