खोटाङ, ९ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी खोटाङले आफ्नो गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने १७ जना जग्गादातको नाम शिलालेखमा राखेको छ ।
सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवसको अवसर पारेर नं. ७ गुल्म हलेसी खोटाङले करोडौँ मूल्यको ४३ रोपनी चार आना दुई पैसा एक दाम जग्गा निःशुल्क दिने जग्गादाताको नाम शिलालेखमा राखेको हो ।
वि.सं. २०६७ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङ र ५ खाल्लेको सीमानामा पर्ने मझुवागढीमा स्थापना गरिएको गुल्मका लागि सबैभन्दा बढी सावित्रा विष्टले सात रोपनी दुई पैसा एक दाम जग्गा निःशुल्क दिएकी थिइन् ।
यस्तै, खड्गबहादुर कटवालले पाँच रोपनी दुई पैसा तीन दाम, भूपराज कटवालले पाँच रोपनी तीन दाम, भीमबहादुर कटवालले तीन रोपनी ११ आना दुई दाम, गोविन्दबहादुर कटवाल (क)ले तीन रोपनी पाँच आना दुई दाम, सीताराम कटवालले तीन रोपनी दुई आना तीन दाम, धनमायाँ कटवालले दुई रोपनी दश आना एक पैसा तीन दाम, छत्रबहादुर कटवालले दुई रोपनी दश आना, भक्तबहहादुर कटवालले दुई रोपनी जग्गा दिएका थिए ।
यसैगरी, पुष्पबहादुर कटवालले दुई रोपनी, ध्रुबलाल कटवालले एक रोपनी एक आना दुई पैसा एक दाम, केशरबहादुर कटवालले एक रोपनी एक आना दुई पैसा एक दाम, ललितबहादुर कटवालले एक रोपनी दुई पैसा तीन दाम, चंखबहादुर कटवालले एक रोपनी, कृष्णबहादुर कटवालले १४ आना दुई दाम, खेमबहादुर कटवालले १३ आना दुई पैसा र बर्तकुमारी राजबंशीले १२ आना एक पैसा जग्गा निःशुल्क दिएका थिए ।
गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार, जग्गादाताको योगदानको कदर गर्दै उनीहरूको नाम समावेश गरी शिलालेख निर्माण गरी औपचारिक रूपमा अनावरण गरिएको हो ।
शिलालेखमा गुल्म स्थापना प्रक्रियामा सहयोग पुर्याउने २५ जना सहयोगी व्यक्तित्वहरूको नामसमेत उल्लेख गरिएको छ ।
यस्तै, २५ औँ स्थापना दिवसकै अवसरमा सशस्त्र प्रहरीले जिल्लाका ७० वर्षमाथिका ३५ जना जेष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरेको थियो ।
जाडो मौसमलाई मध्यनजर गर्दै जेष्ठ नागरिकप्रति सम्मान, सहकार्य र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
यसैक्रममा, गत पुस १६ गते जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै पर्यटकीयस्थल मझुवागढीमा फलामे फलैंचा निर्माण गरिएको थियो ।
महिना दिनसम्म मनाइएको स्थापना दिवसको समापन समारोहमा उत्कृष्ट कार्य गर्ने पदिक तथा कर्मचारीलाई पुरस्कृतसमेत गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।