वडा कार्यालयद्वारा तीन लाख बराबरको सामग्री वितरण

वडा कार्यालयद्वारा तीन लाख बराबरको सामग्री वितरण

रोदिक खबर

१७, माघ २०८२
  • 1.8K
    SHARES
  • वडा कार्यालयद्वारा तीन लाख बराबरको सामग्री वितरण

    खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ वाम्राङमा महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी करिब तीन लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ।

    सहिद दिवसको अवसर पारेर शुक्रबार वडा कार्यालयले आमा समूह, विद्यालय तथा बालविकास केन्द्रका बालबालिका, ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूको संरक्षणमा खटिएका संरक्षकहरूलाई आवश्यक सामग्री तथा सहयोग प्रदान गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकी कार्यपालिका सदस्य मिना कार्कीले जानकारी दिइन्।

    आर्थिक वर्षको वडा स्तरीय स्वीकृत कार्यक्रमअनुसार बाम्राङका साविक १ देखि ९ वडालाई समेट्दै विभिन्न सामाजिक, शैक्षिक तथा सीप विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको हो।

    कार्यक्रमअन्तर्गत बाम्राङका १३ वटा आमा समूहलाई सामूहिक गतिविधि सहज बनाउन १३ वटा टेबल वितरण गरिएको छ।

    त्यसैगरी बालबालिकाको शैक्षिक तथा शारीरिक विकासलाई ध्यानमा राख्दै साबित्रा माध्यमिक विद्यालय र सुर्के विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक खेलकुद सामग्री प्रदान गरिएको छ।

    बालविकास केन्द्रका बालबालिकाका लागि काठका दुई वटा टेबलसमेत वितरण गरिएको छ। यस्तै, ६० जना ज्येष्ठ नागरिकलाई चिसो मौसमबाट जोगिन न्यानो ज्याकेट र टोपी वितरण गरिएको छ।

    पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको संरक्षणमा खटिएका संरक्षकहरूलाई खादा तथा दोसल्ला ओढाइ नगदसहित सम्मान गरिएको छ।साथै १० जना संरक्षकलाई राहतस्वरूप खाद्यान्न सामग्रीसमेत उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।

    त्यसैगरी क्षमता तथा सीप विकास गर्ने उद्देश्यले आर्थिक अवस्था कमजोर रहेका ६ जना विपन्न व्यक्तिहरूलाई आधुनिक आरन वितरण गरिएको छ। यसले उनीहरूको स्वरोजगार र जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष महेन्द्र बहादुर राईले बताए।

    वडाका यस्ता कार्यक्रमले महिला सशक्तीकरण, बालबालिकाको शैक्षिक विकास, ज्येष्ठ नागरिकको सम्मान, अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा तथा स्वरोजगार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीहरूको भनाइ छ।

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

    प्रकाशित मिति :माघ १७, २०८२ शनिवार - ०६:३२:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको