खोटाङ। लोकप्रिय गायिका कविता खत्री र गायक राजु ढकालको स्वरमा रहेको नयाँ गीत ‘दुख्छ अचेल छातीको पाटो’ सांगीतिक बजारमा सार्वजनिक भएको छ। गीतको भिडियो कविता खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो।
समयको महत्त्व, समसामयिक भाव र जीवनका यथार्थ पीडालाई समेटिएको यस गीतले नेपाली समाजमा भोगिँदै आएको दुःख, संघर्ष र मौन पीडालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया आउन थालेको कलाकारहरूले बताएका छन्।
गीतमा प्रसाद लामिछानेको शब्द र राजु ढकालको लय रहेको छ । भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् । भिडियोमा विजय पुन र अस्मिता रानापालको जीवन्त अभिनय देख्न सकिन्छ।
कलाकारहरूका अनुसार ‘दुख्छ अचेल छातीको पाटो’ ले जीवनका अनकन्टार पाटा, भोगाइका पीडा र भित्रभित्रै थिचिएका भावनालाई संगीतमार्फत आवाज दिने प्रयास गरेको छ।
यसअघि ‘नमस्ते ढोगदिया’, ‘फिरफिरे पुतली’, ‘गरिबको जुनी’, ‘हातमा टल्के चुरा’ लगायतका चर्चित गीतमार्फत दर्शक–श्रोताको मन जितेकी गायिका कविता खत्रीको दुख्छ अचेल छातीको पाटाे गीतले पनि राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।