दिक्तेलमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

दिक्तेलमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

रोदिक खबर

५, चैत्र २०८२
  • 792
    SHARES
  • दिक्तेलमा दुई दिने निःशुल्क  स्वास्थ्य शिविर सुरु

    खोटाङ, ५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ।

    नगरपालिकाको आयोजना तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को प्राविधिक सहयोग र गरिमा विकास बैंकको सहकार्यमा बिहीबारदेखि शिविर सञ्चालनमा आएको हो।

    स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

    उनका अनुसार नगरका धेरै नागरिक अझै पनि सहज स्वास्थ्य सेवाबाट वञ्चित रहेकाले शिविरको आयोजना गरिएको हो।

    “स्वास्थ्य सेवा नपाएर बसेका नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरेका हौँ,” उनले भने, “यसमा सहयोग गर्ने सबै संघसंस्थाप्रति नगरपालिका आभारी छ।”

    शिविरमा एक्स–रे, प्रयोगशाला परीक्षण, मुटुको इकोकार्डियोग्राफी लगायतका आधुनिक जाँचका साथै सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, महिलामा हुने क्यान्सर, हाडजोर्नी, दन्त, मानसिक स्वास्थ्य र छाला रोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइँदैछ।

    डाक्टर आनन्दप्रसाद श्रेष्ठका अनुसार २० जना विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गरिरहेको छ।नगरपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारीको समन्वयमा शिविर सञ्चालन भइरहेको छ।

    शिविरमार्फत करिब एक हजार ५०० नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

    जिल्ला आयुर्वेद कार्यालय दिक्तेलमा आयोजित शिविरको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गरेका हुन्।

    शहरका सुविधा सम्पन्न अस्पतालमा पाइने सेवा आफ्नै गाउँमा निःशुल्क प्राप्त गर्न पाउँदा स्थानीयवासी उत्साहित बनेका छन्।

    प्रकाशित मिति :चैत्र ५, २०८२ बिहिवार - २२:५५:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको