खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालन गरिएको दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ६ सय १९ सेवा लिएका छन्।
नगरपालिकाको आयोजना, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोग तथा गरिमा विकास बैंकको सहकार्यमा बिहीबारदेखि शिविर सञ्चालन गरिएको हो ।
स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरप्रति उल्लेख्य सहभागिता देखिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
अझै पनि धेरै नागरिक सहज र पहुँचयोग्य स्वास्थ्य सेवाबाट वञ्चित रहेकाले शिविर सञ्चालन गरेका हौँ,” उनले भने, “यसमा सहयोग गर्ने सबै संघ–संस्थाप्रति नगरपालिका आभारी छ।”
शिविरमा एक्स–रे, प्रयोगशाला परीक्षण, मुटुको इकोकार्डियोग्राफी लगायतका आधुनिक स्वास्थ्य परीक्षणका साथै सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, महिलामा हुने क्यान्सर, हाडजोर्नी, दन्त, मानसिक स्वास्थ्य तथा छाला रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार शिविरमा विभिन्न विधाका सेवा एकै स्थानबाट निःशुल्क उपलब्ध गराइएको थियो।
डाक्टर आनन्दप्रसाद श्रेष्ठको नेतृत्वमा १६ जना विशेषज्ञ चिकित्सकको टोली सहित ३३ जनाले सेवा दिएका थिए ।
नगरपालिकाकाको समन्वयमा जिल्ला आयुर्वेद कार्यालय दिक्तेलमा सञ्चालन गरिएको शिविरबाट सहरका सुविधा सम्पन्न अस्पतालमा पाइने सेवा गाउँमै निःशुल्क प्राप्त गर्न पाउँदा स्थानीयवासी अत्यन्त उत्साहित भएका थिए ।
यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन्।