खोटाङ, चैत ३० ।नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको छ।
नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले सोमबार जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको हो।
अस्पतालमा उपचार गराइरहेका ११ जना बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको शाखाका सचिव राजकुमार भट्टराईले जानकारी दिए।
फलफूल वितरण कार्यक्रममा सम्पादक समाज खोटाङका अध्यक्ष कृष्ण आचार्य, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिबोल आचार्य, निवर्तमान अध्यक्ष दिलीप खत्री, पूर्व अध्यक्ष डम्बरसिं राई, दमन राई, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईं, प्रेस चौतारी नेपाल खोटाङका अध्यक्ष राजन ठटाल, प्रेस सेन्टर नेपाल खोटाङकी अध्यक्ष सविना अछामे लगायत पत्रकारहरूको सहभागिता रहेको महासङ्घले जनाएको छ।
स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै बिरामीलाई सानो सहयोग तथा हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।