खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स.छितापोखरीस्थित तृतीयाभन्ञ्ज्याङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
संघीय सरकारकाे ३७ लाखको लागतमा निर्माण गरिएको नवनिर्मित स्वास्थ्य चौकी भवनको कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य निवर्तमान मन्त्री भूपेन्द्र राईले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
स्थानीय बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको भवन सञ्चालनमा आएपछि पहिले साँघुरो कोठा भएका भवनबाट सेवा दिँदैआएकोमा अब सेवा प्रवाहका लागि सहज हुने स. छितापाेखरी स्वास्थ्य चौकी प्रमुख चन्द्रमाया राईले जानकारी दिइन्।
कार्यक्रममा बोल्दै मन्त्री राईले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको उल्लेख गर्दै आवश्यक सामग्रीको लागि पहल गर्ने बताए ।
नयाँ भवनमा उपचार कक्ष, औषधि वितरण कक्षलगायत आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिएको जनाएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ का वडाध्यक्ष डम्बर खड्काकाे अध्यक्षतामा भएको स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा दिप्रुङ गाउँपालिका उपाध्यक्ष अरुणा थापामगर, जिल्ला समन्वय समिति सदस्य कला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष गन्धमान मगर, नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका निवर्तमान अध्यक्ष दिलीप खत्री, स्वास्थ्य शाखा प्रमुख मुस्ताक अअमद मन्सुरी, सरस्वती मावि कुलागाउँका प्रधानाध्यपक पदमकेशर राई लगायतले शुभकामना दिएका थिए ।