खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० बिप्लाटे स्थित मध्यपहाडी लोकमार्गमा बस र अटो एकआपसमा ठोक्किँदा एक किशोरी घाइते भएकी छन्।
काठमाडौंबाट दिक्तेलतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९९६४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०२–००५ ह ४३८४ नम्बरको अटो मंगलबार बिहान ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ की १४ वर्षीया दिक्षा राई घाइते भएकी छन्। उनको खुट्टा र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस चालक उदयपुर बेल्टारका ३५ वर्षीय रमेश बिसङ्खे दुर्घटनापछि फरार रहेका छन् भने अटो चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का ३५ वर्षीय भीमचन्द्र राई उपचारमा रहेको बताइएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।