दुई लाख पुरस्कार राशिको पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि रावा बेसी गाउँपालिकाले जितेको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजना गरिएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पराजित गर्दै रावा बेसीले उपाधि चुमेको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको जुनेश स्मृति खुल्ला अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको रावा बेसी गाउँपालिकाले नगद २ लाखसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
उपविजेता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद १ लाखसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ सापातेलस्थित बिर्ख बहादुर खेल मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ३–२ सेटले रावा बेसीले पराजित गरेको हो । प्रतियोगिताको सेमिफाइनलिस्ट उपयपुरको ताप्ली गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँलाई नगद २५/२५ हजारसँगै मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले जानकारी दिए ।
तीन जना खेलाडी गाउँपालिका भन्दा बाहिरको राख्न पाउने नियमसहित वैशाख २० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा रावा बेसी गाउँपालिकामा कोशी प्रदेशका टिम क्याप्टेन विष्णु बस्नेतसहितका खेलाडी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको टिममा राजकुमार तामाङ लगायतका खेलाडीहरु सहभागी भएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट बनेका विष्णुले नगद ५ हजार पाएका छन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट सेटर दिक्तेल टिमका राजन लिम्बु, उत्कृष्ट लिब्रो ताप्ली गाउँपालिकाका सन्देश राई, उत्कृष्ट ब्लकर रावा बेसी टिमका निरुप बस्नेत, उत्कृष्ट स्पाइकर दिक्तेल टिमका लिला डाँगी भएका छन् । उनीहरु चारै जनाले नगद ३/३ हजार पाएको संयोजक श्रेष्ठले बताए ।
समापन कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिका उदयपुरका नगरप्रमुख बसन्त कुमार बस्नेत र विशेष अतिथि दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई लगायतले पुरस्कार प्रदान गरेको बताइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उत्कृष्ट भलिबल खेलाडी जुनेश बस्नेतको गत वर्ष निधन भएको थियो । उनै स्वर्गीय बस्नेतको स्मृतिमा गाउँपालिकाले पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको हो ।