खोटाङ । खोटाङमा बाली विज्ञान सहायक प्रशिक्षक छनोट परीक्षामा फर्जी उत्तपुस्तिका भेटिएको भन्दै विवाद भएको छ । दुई जना परीक्षार्थी भएको परीक्षामा तीन वटा उत्तरपुस्तिका भेटिएको भन्दै विवाद भएपछि आइएससी एजी प्रशिक्षक छनोट अन्योल भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन भएको आइएससी एजी शिक्षकको परीक्षामा फर्जी उत्तपुस्तिका भेटिएको परीक्षा सञ्चालन समितिका संयोजकले आरोप लगाएका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजारास्थित राम्चे निकेतन माध्यमिक विद्यालयको लागि वैशाख २४ गते आइएससी एजी शिक्षकको परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा दुई जना सहभागी भएपनि तीन वटा उत्तपुस्तिका भेटिएपछि विवाद भएको परीक्षा संयोजक एवं राम्चे निकेतन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज दंगालले बताए ।
दंगालका अनुसार परीक्षामा अगाडीबाटै आफुलाई शङ्का लागेपछि दुई उत्तपुस्तिकामा आफुले हस्ताक्षर गरेर परीक्षार्थीलाई दिइएको थियो । तर, परीक्षा सकिएपछि परीक्षणको क्रममा हस्ताक्षर नभएको एउटा उत्तरपुस्तिका आएको उनको भनाइ छ ।
हराएको उत्तरपुस्तिका खोजी भएपछि परीक्षा सञ्चालन समिति सदस्य एवं गाउँपालिकाका विद्यालय निरीक्षक रणशेर तामाङले हस्ताक्षर भएको अर्को उत्तरपुस्तिका पनि ल्याएको संयोजक दंगालको आरोप छ ।
दुई जना परीक्षार्थी सहभागी परीक्षामा तीन वटा उत्तरपुस्तिका आएपछि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको मागसहित आफुले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइ खोटाङमा वैशाख २५ गते निवेदन दिएको दंगालको भनाइ छ ।
वैशाख २४ गते गाउँपालिकाको कार्यालयमा भएको परीक्षामा पहिलो चरणको ५० अङ्कको लागि एक घण्टाको समय छुट्याइएको थियो । एक परीक्षार्थीले २५ मिनेटमै परीक्षा सञ्चालन समितिका सदस्य रणशेर तामाङलाई उत्तरपुस्तिका बुझाएका थिए ।
परीक्षा समय सकिएपछि उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा फर्जी उत्तरपुस्तिका भेटिएको दंगलको भनाइ छ । २५ मिनेटमा बुझाएका परीक्षार्थीको उत्तरपुस्तिका परिवर्तन गरेर अर्को नक्कली उत्तरपुस्तिका परीक्षणको लागि तामाङले ल्याएको संयोजक दंगालले बताए ।
तीन वटा उत्तरपुस्तिका भेटिएपछि एउटा प्रहरीलाई राख्न दिएको तर पछि प्रहरीले गाउँपालिका अध्यक्षलाई दिएको भन्दै फिर्ता नगरेको दंगालको भनाइ छ । दुई वटा उत्तरपुस्तिका भने दंगाल स्वयंसँग रहेको पाइएको छ ।
यता, परीक्षा सञ्चालन समितिका संयोजक दंगालले अनादार आरोप मात्र लगाएको परीक्षा सञ्चालन समितिका सदस्य रणशेर तामाङको भनाइ छ । परीक्षा सम्बन्धि कुनै बैठक नबसेको, आफुहरुलाई रोहबर नराखेको तामाङको भनाइ छ ।
तीन वटा उत्तरपुस्तिका भेटिएको भन्दै अनधिकृतरुपमा उत्तरपुस्तिका बोकेर परीक्षा सञ्चालन समितिका संयोजक हिडेको तामाङको आरोप छ ।
यस्तै, गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एउटा उत्तरपुस्तिका आफुलाई प्रहरीले दिएको भन्ने कुरा गलत रहेको बताए । परीक्षामा तीन वटा उत्तरपुस्तिका भेटिएको भन्ने कुरा आएपछि बैठक बसेर प्रक्रिया अनुसार काम गर्न आफुले भनेको उनको भनाइ छ । अन्य विषयमा आफु जानकार नभएको पालिका अध्यक्ष राईको भनाइ छ ।
वैशाख २४ गते पालिकामा सञ्चालन गरिएको उक्त परीक्षामा परीक्षा सञ्चालन समितिको संयोजकमा विव्यस अध्यक्ष दंगाल, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक इश्वर लम्साल, सदस्यहरुमा शिक्षा शाखा संयोजक मणी गिरी, विद्यालय निरीक्षक रणशेर तामाङ, गाउँपालिकाको शिक्षा समितिको सदस्य सुनिता विश्वकर्मा, विषय विज्ञको रुपमा पञ्च माविका शिक्षक हिक्मत बोगटी रहेको बताइएको छ । परीक्षामा विवाद भएपछि शिक्षक छनोट अहिले अन्योल भएको छ ।