दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखाले नसर्ने रोगको बढ्दो जोखिमबारे जिल्लाका पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । स्वास्थ्य शाखाले बिहीवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरभित्र उच्च रक्तचापसहित विभिन्न नसर्ने रोगका बिरामीको संख्या बढ्दो रहेको तथ्य सार्वजनिक गरेको हो ।
कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनी स्याङदान तामाङले प्रस्तुत गरेको तथ्यांकअनुसार नगरपालिकाभित्र ३० वर्षभन्दा माथिका ४३२ जनामा गरिएको परीक्षणमा ९८ जनामा उच्च रक्तचाप, १३ जनामा मधुमेह, ४० जनामा मृगौलासम्बन्धी समस्या, ५३ जनामा मोटोपना तथा केहीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । नगरपालिकामा पछिल्ला तीन आर्थिक वर्षमा नसर्ने रोगका बिरामीको संख्या उच्च रहेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ३३७ जना, आव २०८१/०८२ मा ५९९ जना र चालु आर्थिक वर्ष २०८२/०८३ मा ५३१ जनामा नसर्ने रोगको समस्या पहिचान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार मुटुरोग, मधुमेह, दीर्घ श्वासप्रश्वास रोग, क्यान्सर, मस्तिष्कघात तथा स्नायु प्रणालीसम्बन्धी रोगहरू प्रमुख नसर्ने रोग हुन् । संक्रमणबाट नफैलिने भएपनि यस्ता रोग दीर्घकालसम्म रहने र जटिलता निम्त्याउने भएकाले समयमै पहिचान र रोकथाम आवश्यक रहेको जनाइएको छ ।
जनस्वास्थ्य अधिकृत दिनेशराज न्यौपानेका अनुसार नगरपालिकाले १५ वटै वडामा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै दिक्तेल, सोल्मा, लफ्याङ, बुवालुङ, नुनथला र बुइपामा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । उनले नसर्ने रोगबाट बच्न स्वस्थकर खानपान, नियमित व्यायाम, धूम्रपान तथा मदिरा सेवनबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने र नियमित स्वास्थ्य परीक्षण गराउने बानी आवश्यक रहेको बताए ।
कार्यक्रममा नगरप्रमुख तीर्थराज भट्टराईले नसर्ने रोगको जोखिम बढ्दै गएको अवस्थामा स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वस्थ जीवनशैली अपनाउनु आजको आवश्यकता र अपरिहार्यता भएको बताए । उनले नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन र स्वस्थकर खानपानमा ध्यान दिन आग्रह गरे ।