दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई

दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई

रोदिक खबर

१०, जेठ २०८३
  • 1.4K
    SHARES
  • दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई

    खोटाङ । दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई चयन भएकी छन् । राईलाई क्याम्पसको आठौँ साधरणसभाले पुनः तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

    सञ्चालक समितिको उपाध्यक्ष कुमारप्रसाद आचार्य, सदस्यहरुमा रामप्रसाद दंगाल, प्रकाशकुमार श्रेष्ठ, दिनेशकुमार घिमिरे, उमेश राई, शिवनारायण श्रेष्ठ, राजकुमार उदास र टीका खत्री चयन भएका छन्। साधारणसभाले सर्वसहमतिमा क्याम्पस सञ्चालक समितिको नयाँ कार्यसमिति चयन गरेको हो ।

    साधारणसभापछि नवनिर्वाचित क्याम्पस सञ्चालक समितिको आज (आइतबार) नै बसेको पहिलो बैठकले चारजना मनोनित सदस्यसमेत थप गरेको छ । मनोनित सदस्यहरुमा रामबहादुर बजगाईँ, डिल्लीकुमारी आचार्य, दीपक ठटाल र सीताराम राई रहेका छन् ।

    जिल्लाको सबैभन्दा पूरानो दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख कृष्णबहादुर राई रहेका छन् ।

    क्याम्पस सञ्चालक समितिको पदेन सदस्यहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष, प्राध्यापक सङ्घको अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि रहने कानूनी व्यवस्था छ ।

    साधारणसभाले क्याम्पस प्रमुख कृष्णबहादुरले पेश गरेको प्रगति प्रतिवेदन र सहायक क्याम्पस प्रमुख हर्कवीर राईले पेश गरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

    साधारणसभा उद्घाटनसत्रमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    यस क्याम्पसले २०८१ मा विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ ।

    कक्षा–११ देखि स्नातकोत्तरसम्म अध्ययन/अध्यापन हुने दिक्तेल बहुमुखी क्याम्पसमा ९२१ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

    प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - १८:०२:३९ बजे

    रोदिक खबर