खोटाङ, ३ असार । खोटाङका विभिन्न खेलकुद संघ तथा सरोकारवालाहरूले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा सञ्चालनका लागि प्राप्त बजेटमा अनियमितता भएको आरोप लगाउँदै निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।
जिल्लाका विभिन्न खेलकुद संघका प्रतिनिधिहरूले बुधबार प्रमुख जिल्ला अधिकारी रेखा कडेलमार्फत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउँदै छानबिनको माग गरेका हुन्।
कोशी प्रदेश खेलकुद विकास बोर्डमार्फत जिल्ला खेलकुद विकास समिति खोटाङलाई प्राप्त ८ लाख रुपैयाँमध्ये १ लाख ४४ हजार रुपैयाँ मात्र खर्च भएको देखिए पनि बाँकी ६ लाख ५६ हजार रुपैयाँको स्पष्ट खर्च विवरण सार्वजनिक नगरिएको भन्दै छानबिनको माग गरेका हुन् ।
ज्ञापनपत्रमा जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश) र कार्यालय प्रमुख लिलाभक्त केसीको संयुक्त हस्ताक्षरमा विभिन्न चरणमा रकम निकासा गरिएको उल्लेख गर्दै उक्त रकमको पारदर्शी आय–व्यय विवरण सार्वजनिक गर्न माग गरिएको छ।
साथै यस विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ। खेल संघहरूले खेलकुद क्षेत्रको विकास, खेलाडीहरूको हकहित संरक्षण तथा प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी बोकेका पदाधिकारीहरूमाथि नै अनियमितताको आरोप लाग्नु दुःखद र चिन्ताजनक विषय भएको बताएका छन्।
उनीहरूका अनुसार पछिल्ला दुई वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन नसक्दा जिल्लाका खेलाडीहरू प्रतिस्पर्धात्मक अवसरबाट वञ्चित भएका छन् भने समग्र खेल गतिविधि समेत प्रभावित बनेको छ।
ज्ञापनपत्रमा कोशी प्रदेश खेलकुद विकास बोर्डबाट विभिन्न समयमा जारी भएका निर्देशन तथा पत्राचारसमेत बेवास्ता गरिएको उल्लेख गरिएको छ। त्यसकै परिणामस्वरूप जिल्ला खेलकुद विकास समिति कालोसूचीमा पर्न पुगेको र जिल्लाको खेलकुद गतिविधि लगभग शून्य अवस्थामा पुगेको दाबी खेल संघहरूको छ।
खेल क्षेत्रको सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सरोकारवालाहरूले तीनबुँदे माग अघि सारेका छन्। उनीहरूले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्राप्त सम्पूर्ण बजेटको आय–व्यय विवरण सार्वजनिक गर्न, अनियमित रूपमा खर्च भएको रकम असुलउपर गर्न, निष्पक्ष तथा स्वतन्त्र छानबिन गर्न तथा दोषी प्रमाणित भए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै खेलकुद क्षेत्रसँग आबद्ध प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्। खेलाडीहरूको भविष्य सुरक्षित गर्न, खेल क्षेत्रको विश्वसनीयता जोगाउन तथा सार्वजनिक स्रोत–साधनको सदुपयोग सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने उनीहरूको जोड छ।
सरोकारवालाहरूले आफ्ना मागप्रति बेवास्ता गरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
ज्ञापनपत्रमा नेपाल कराते महासंघ खोटाङका अध्यक्ष सुमन राई, जिल्ला कबड्डी संघका अध्यक्ष चन्द्रकुमार श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पर्शुराम थापा ‘आशिष’, नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजु, जिल्ला एथलेटिक्स संघका उपाध्यक्ष धनिराम राई, जिल्ला भलिबल संघका महासचिव दिलचक्र राई, नेपाल तेक्वान्दो संघका सचिव सञ्जयकुमार राई, नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई, अन्तर्राष्ट्रिय प्रशिक्षक मोतिचन्द्र राई, अन्तर्राष्ट्रिय प्रशिक्षक जितेन्द्र राई तथा प्रशिक्षक एवं निर्णायक मिलन राईलगायतको हस्ताक्षर रहेको छ।
खेलकुद क्षेत्रको पारदर्शिता र जवाफदेहितासँग जोडिएको यो विषयले जिल्लामा व्यापक चासो र बहस सिर्जना गरेको छ।