ओखलढुंगा । बुधबार करेन्ट लागि मृत्यु भएका मोलुङ हाइड्रो पावरका कर्मचारीको परिवारले ६ लाख क्षतिपूर्ति दिने सहमतिपछि शव बुझेका छन्। मोलुङ हाइड्रोको विद्युत प्रसारण लाइनमा आएको समस्या समाधानका लागि पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको थियो।
मोलुङ गाउँपालिका ३ स्थित हाइड्रोका सुपरभाइजर परनेश खत्रीको करेन्ट लागेर विद्युतको पोलमै मृत्य भएपछि परिवारले क्षतिपूर्ति नभई शव बुझेका थिएनन्।
अप्राविधिक कर्मचारीलाई प्राविधिक काम लगाएको, विद्युत प्रसारण बन्द गरिएको भने पनि करेन्ट लागेर ज्यान गएको भन्दै मृतकका परिवार र आफन्तले कारबाही माग गर्दै प्रशासनमा उजुरी गरेका थिए।
दुई पक्षबीच भएको छलफलमा पीडित परिवारलाई किरिया खर्च १ लाख र क्षतिपूर्ति पाँच लाख दिने सहमतिपछि परिवारले शव बुझेका छलफलमा सहभागी स्थानीय अर्जुन गिरीले बताए।
हाइड्रोले कमजोरी स्वीकार गर्दै क्षतिपूर्ति दिन तयार भएको, विद्युत प्रसारणमा भएको प्राविधिक त्रुटि पहिचान गर्न समिति गठन भएको र ८ वर्षसम्म मृतकका परिवारको भरणपोषणका लागि वार्षिक ५० हजार दिने सहमति भएको गिरीले जानकारी दिए।
अप्राविधिक कर्मचारीलाई प्रसारण लाइन मर्मत गराउन खटाउनु गम्भीर लापरवाही भएको स्थानीयको भनाइ छ। पटक पटक लापरवाही गर्नेमाथि कारबाही हुनुपर्ने स्थानीयको माग छ। यसअघि पनि पावर हाउस नजिकै करेन्ट लागेको एक स्थानीयको ज्यान गएको थियो।
विद्युत प्रसारणमा लाइनमा भएका त्रुटि पहिचान गरेर प्रतिवेदन पेस गर्न प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको र मृतकको बिमाबापत पाउने सुविधा परिवारलाई दिन प्रक्रिया बढाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए।
हाइड्रोका मालिक र उपल्ला कर्मचारीको चरम लापरवाही र दादागिरी विगतदेखि नै चलेको भुक्तभोगी बताउँछन्। यसअघि निर्माणकै चरणमा पनि संस्थागत सेयर दिने भन्दै मोलुङका सबै वडाबाट उठाइएको २ करोड रकमसमेत अहिलेसम्म कसरी कहाँ राखिएको छ भनी सर्वसाधारणलाई पत्तो छैन।