खोटाङ, ६ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रोजगारी सिर्जना एवं प्रवर्द्धनका लागि सरोकारवालासँग रणनीतिक संवाद कार्यक्रम गरेको छ । स्थानीय स्तरमा रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले शनिबार रोजगार संवाद कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने विषयमा व्यापक छलफल गरिएको थियो।
सहभागीहरूले कृषि, पर्यटन, साना तथा घरेलु उद्योग, उद्यमशीलता विकास, सीपमूलक तालिम तथा लगानीमैत्री वातावरण निर्माणमार्फत दिगो रोजगारी सिर्जना गर्न सकिने सुझाव दिएका थिए। साथै, स्थानीय उत्पादनको बजारीकरण, निजी क्षेत्रसँगको सहकार्य र स्वरोजगार प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रोजगार शाखाका रोजगार संयोजक सुनिल पन्थीले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय श्रम बजारको अवस्था, रोजगार तथा सीपको माग र आपूर्ति, रोजगार प्रवर्द्धनका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट निर्माण, सञ्चालनमा रहेका कार्यक्रमहरूको मूल्याङ्कन तथा प्रचारप्रसारका विषयमा प्रकाश पारेका थिए।
उनले स्थानीय तहमा रोजगारीका सम्भावनाको पहिचान, अन्तरतह तथा अन्तरनिकाय समन्वय, रोजगारदाता र शैक्षिक संस्थासँग सहकार्य विस्तार, सार्वजनिक–निजी साझेदारी अवधारणामार्फत रोजगारमूलक आयोजनाको विकास, सुरक्षित वैदेशिक रोजगारी, वैदेशिक रोजगारबाट फर्किएका (रिटर्नी) श्रमिकहरूको आर्थिक तथा सामाजिक पुनःएकीकरण, तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान तथा स्थानीय आवश्यकता अनुरूपका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
नगरपालिकाले रोजगारमैत्री नीति तथा कार्यक्रममार्फत बेरोजगारी न्यूनीकरण गर्दै स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रममा प्राप्त सुझावहरूलाई आगामी योजना, नीति तथा कार्यक्रमहरूमा समेटेर स्थानीय स्तरमा दिगो र उत्पादनमुखी रोजगारी सिर्जना गर्ने दिशामा थप प्रभावकारी कदम चालिने नगर प्रमुख तीर्थराज भट्टराईले बताए।
सहभागीहरूले रोजगार सिर्जना केवल सरकारी प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्र, शैक्षिक संस्था, सहकारी, नागरिक समाज तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए।
रोजगार संवाद कार्यक्रमले स्थानीय तहमा उपलब्ध सम्भावनाको पहिचान गर्दै रोजगारमुखी विकासको साझा मार्गचित्र तयार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नगरका जनप्रतिनिधि, व्यापारी, उद्योगी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।