खोटाङ । दिक्तेलस्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कुलले राष्ट्रिय परीक्षा बोर्डको कक्षा–१२ परीक्षामा जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेका आफ्ना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला प्रथम, तृतीय र द्वितीय हुने विद्यार्थीलाई सम्मानपत्र साथ नगद पुरस्कार प्रदान गरिएको हो।
यस वर्षको कक्षा–१२ परीक्षामा ३.९० जीपीए सहित जिल्ला प्रथम बनेका अजय पाण्डे र ३.६६ जीपीए सहित जिल्ला द्वितीय बनेका प्रतीक राई र तृतीय स्मारिका राईलाई सम्मान गरिएको विद्यालयका शिक्षक अर्जुन केसीले जानकारी दिए।
विद्यालय सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थराज बिक, विद्यालयका पूर्व अध्यक्ष दुर्गाप्रसाद घिमिरे, विद्यालयका सदस्य एवं प्रबन्धक समुन्द्र प्रसाद जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख भट्टराईले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी सम्पूर्ण जिल्लाकै गौरव भएको उल्लेख गर्दै यस्ता उपलब्धिले अन्य विद्यार्थीलाई पनि मेहनत, अनुशासन र उत्कृष्टताको बाटोमा अघि बढ्न प्रेरणा दिने बताए।
उनले गुणस्तरीय शिक्षा निर्माणमा विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। वक्ताहरूले शैक्षिक सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई विद्यालय, परिवार र समाजको सामूहिक प्रयासको प्रतिफल भएको धारणा राख्दै उत्कृष्ट विद्यार्थीलाई सम्मानले अध्ययन–अध्यापनप्रति सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
विद्यालयले आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने प्रधानाध्यापक झमरलाल चौधरी बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
