खोटाङ। खोटाङको बराहपोखरी गाउँपालिका–१ कार्तिकेका ७२ वर्षीय सहवीर परियार मृत फेला परेका छन्। घोप्टेथालबाट-लामाचौर जाने कच्ची सडकखण्डमा परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए।
परियार सडकमा मृत फेला परेको सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक देवकुमार शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी बराहपोखरीबाट करिब १ किलोमिटर पश्चिममा पर्छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक विजय लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।