• ट्रेण्डिङ:

नेपाली कांग्रेस १५ औँ महाधिवेशन तयारीका लागि खोटाङ जिल्ला संयोजकमा रोजन राई

नेपाली कांग्रेस १५ औँ महाधिवेशन तयारीका लागि खोटाङ जिल्ला संयोजकमा रोजन राई

रोदिक खबर

१, आश्विन २०८३
  • 5.3K
    SHARES
  • नेपाली कांग्रेस १५ औँ महाधिवेशन तयारीका लागि खोटाङ जिल्ला संयोजकमा रोजन राई

    खोटाङ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका लागि शेरबहादुर देउवा समूहले खोटाङ जिल्ला संयोजकको जिम्मेवारी रोजन राईलाई दिएको छ। नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले राईलाई जिल्ला संयोजकमा मनोनयन गरेका हुन्।

    IMG-20260917-WA0022.jpgजिल्लाका पार्टी नेता–कार्यकर्ताको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा राईलाई जिम्मेवारी दिइएको मनोनयन पत्रमा उल्लेख छ।

    समितिको २०८३ भदौ १७ र १८ गते बसेको बैठकले १५ औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ।

    महाधिवेशनअन्तर्गत असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको पत्रमा जनाइएको छ।

    मनोनयन पत्रमा नेपाली कांग्रेसले स्थापनाकालदेखि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासनका पक्षमा निरन्तर संघर्ष गर्दै लोकतान्त्रिक अभियानको नेतृत्व गर्दै आएको उल्लेख छ।

    पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको वैधानिक केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको समेत पत्रमा उल्लेख गरिएको छ।

    महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र आवेग, उत्तेजना, गालीगलौज र षड्यन्त्रभन्दा संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

    लोकतन्त्रवादी व्यक्ति तथा समुदायको साथ र सहभागिता जुटाउँदै पार्टीलाई सबल, सक्षम र लोकप्रिय बनाउने प्रतिबद्धता पनि पत्रमा उल्लेख गरिएको छ।

    राईलाई जिल्ला संयोजकको जिम्मेवारी दिँदै नेपाली कांग्रेसका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात गरी खोटाङमा पार्टी संगठनलाई थप मजबुत, व्यवस्थित र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्न भनिएको छ।

    राईको मनोनयनसँगै आगामी महाधिवेशनका लागि खोटाङमा वडा तहदेखि जिल्ला तहसम्मको संगठनात्मक तयारीले गति लिने जनाइएको छ।

    IMG-20260917-WA0035.jpg

    प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - १२:०७:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको