खोटाङ । पिसाब थैलीको क्यान्सरबाट पीडित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल माटीकोरेका रामबहादुर दाहालको उपचारका लागि दाहाल प्रतिष्ठान शाखा समिति खोटाङले आर्थिक सहयोग गरेको छ।
दाहालको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले दाहाल प्रतिष्ठान शाखा समिति खोटाङले नौ हजार आर्थिक सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष लीलाबहादुर दाहालले जानकारी दिए ।
क्यान्सरजस्तो जटिल रोगसँग संघर्ष गरिरहेका दाहालको उपचारमा सहयोग पुगोस् भनेर प्रतिष्ठानको तर्फबाट सहयोग रकम उपलब्ध गराइएको अध्यक्ष दाहालको भनाइ छ ।
गत चैतदेखि बिरामी रहेका ५८ वर्षीय दाहालको हाल भारतको नयाँदिल्लीस्थित पोटी अस्पतालमा उपचार भइरहेको उनकी श्रीमती दैया कुमारी दाहालले जानकारी दिइन्। क्यान्सरको उपचार लामो र खर्चिलो हुने भएकाले परिवारले आर्थिक कठिनाइसमेत व्यहोर्नुपरेको उनले बताइन्।
प्रतिष्ठानका अध्यक्ष दाहालले उपचाररत रामबहादुर दाहालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका क्रममा आवश्यक सहयोग र सद्भावका लागि सबैमा आग्रहसमेत गरेका छन्।