उदयपुर मदनभण्डारी राजमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा ट्रक र हायस एकआपसमा ठोक्किँदा १२ गम्भिरसहित १७ जना घाइते भएका छन् ।
बुधबार बिहान करिब १०ः०० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३००१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा हायसमा सवार तथा चालक र सहचालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङ मगरले जानकारी दिए ।
गम्भीर घाइतेमध्ये ६ महिला र ६ पुरुष छन् । गम्भीर घाइतेहनेहरु इन्दिरा श्रेष्ठ, रुकमाया श्रेष्ठ, पविना श्रेष्ठ, देवराज विक, रामबहादुर विक, एदुचन्द्र राई, रस्मिला दाहाल, करुण विक, सुदिप राई र शान्ति न्यारिकासहित १० जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ ।
अन्यको उदयपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का करिब ३० वर्षीय रत्नबहादुर तामाङ प्रहरी नियन्त्रणमा छन् ।
प्रारम्भिक अनुसन्धानमा ट्रकको ब्रेक नलागेका कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।