खोटाङ । भाद्र १० गते रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित परिवारहरूको पीडामा साथ दिन तरुण दल खोटाङसँग आबद्ध युवाहरूले ८१ हजार ९८९ सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
तरुण दलका पूर्व केन्द्रीय सदस्य जय कुमार तामाङको संयोजकत्वमा युवाहरूको पहलमा उक्त सहयोग रकम संकलन गरिएको हो।
विपद्का कारण घरबार, धनसम्पत्ति तथा आफन्त गुमाएर कठिन अवस्थामा रहेका परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रमोद राईले जानकारी दिए।
अभियानका संयोजक तामाङसहित तरुण दलसँग आबद्ध युवाहरू तथा शुभेच्छुकहरूले स्वस्फूर्त रूपमा रकम सहयोग गरेका थिए। सहयोगकर्तामध्ये जय कुमार तामाङ र सतेन्द्र ठकुरीले जनही १० हजार, काजीमान राई, भीमबहादुर तामाङ, सुरेश गुरुङ (किमजोङ), अनुप राई, प्रमोद राई लगायत ४० जना सहयोगदाताले सहयोग गरेका छन्।
संकलित रकम मङ्गलबार सम्बन्धित कोषमा जम्मा गरिसकिएको जनाइएको छ। आयोजकहरूले सहयोग रकमको आकारभन्दा पनि विपद्को कठिन घडीमा देखाइएको एकता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्व महत्वपूर्ण रहेको बताएका छन्।
विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएकाले आफूहरूले सकेको सहयोग जुटाएको उनीहरूको भनाइ छ।
अभियानमा सहयोग गर्ने सम्पूर्ण तरुण साथीहरू, शुभेच्छुक तथा सहयोगदाताप्रति आयोजकहरूले हार्दिक आभार व्यक्त गरेका छन्।