खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट बेवारिसे अवस्थामा रहेका एक सडक मानवको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको हो ।
वडा कार्यालय सोल्माको सिफारिसमा माया घर नेपाल सुनसरीको समन्वयमा श्रेष्ठको उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए ।
श्रेष्ठलाई उद्धार गर्न माया घर नेपाल इटहरीका मेची प्रतिनिधि कौशल भण्डारी, नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, वडा अध्यक्ष ध्रुवविक्रम राईलगायत सोल्मा पुगेका थिए ।
सोल्मास्थित सडकबाट उद्धार गरिएका श्रेष्ठलाई सरसफाइ गराएर नयाँ लुगा लगाइदिइएको उद्धारकर्मीले बताएका छन् । शारीरिक रूपमा कमजोर भइसकेका श्रेष्ठलाई बिर्तामोड पठाउन नगरपालिकाले गाडीको व्यवस्था मिलाएको थियो । बेवारिसे अवस्थामा दिनरात सडकमा डुलिरहने श्रेष्ठका बुबा बेपत्ता भएको र आमाको मृत्यु भइसकेको वडाध्यक्ष राईले जानकारी दिए ।
घरपरिवारले उपचार गर्दा पनि ठिक नभएपछि बेवारिसे बनेर डुलिरहेका श्रेष्ठलाई उद्धार गरी ‘आफ्नो घर नेपाल’ पठाइएसँगै उनले सहज जीवनयापन गर्ने अवसर पाउने भएका छन् ।
माया घर नेपालले यसअघि कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरिसकेको छ ।
जिल्लाबाट उद्धार गरेर पठाइएका सबैले सहज रूपमा जीवनयापन तथा अध्ययन गरिरहेको खोटाङ प्रतिनिधि ढकालले जानकारी दिए ।