खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित सिद्धेश्वरी आधारभूत विद्यालय मुडेका ६२ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ।
विद्यालयकी पूर्वप्रधानाध्यापक बिन्दा थापाले बाल विकास केन्द्रदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत खर्चमा ट्र्याकसुट उपलब्ध गराएकी हुन्।
उनले करिब एक लाख २३ हजार पाँच सय रुपैयाँ बराबरको ट्र्याकसुट विद्यार्थीलाई वितरण गरेकाे विद्यालयका प्रधानाध्यापक जसबहादुर तामाङले बताए ।
विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्नुका साथै विद्यालयप्रति उनीहरूको आकर्षण बढाउने उद्देश्यले ट्र्याकसुट वितरण गरिएको जनाइएको छ।
विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री तथा पोसाक उपलब्ध गराउँदा उनीहरूको विद्यालयप्रतिको आकर्षण बढ्नुका साथै नियमित विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको प्रधानाध्यापक तामाङले बताए।
विद्यालयका अनुसार विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता सहयोगले आर्थिक अभावका कारण आवश्यक पोसाक तथा सामग्री जुटाउन कठिनाइ हुने परिवारका बालबालिकालाई समेत राहत पुग्नेछ ।
पूर्वप्रधानाध्यापक थापाले विद्यालयमा आफूले बिताएको ३४ वर्षको समय र विद्यार्थीप्रतिको आत्मीयतालाई निरन्तरता दिँदै सहयोग गरेको विद्यालयले जनाएको छ।
ट्र्याकसुट वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमचन्द्र थापाको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोलमाका वडा अध्यक्ष धुर्व विक्रम राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।