खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खोटाङमा सम्पन्न प्रदेश सभा अधिवेशनमा ४५९ जना क्षेत्रीय प्रतिनिधि अनुपस्थित भएका छन्।
वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएको डेढ हप्तापछि गरिएको अधिवेशनमा एक चौथाइभन्दा बढी प्रतिनिधि सहभागी नहुनुले कांग्रेसभित्र संगठनात्मक सक्रियता, कार्यकर्ताको उत्साह र आन्तरिक एकतामाथि प्रश्न उठाएको छ।
असोज १४ देखि १६ गतेसम्म दिक्तेलमा भएको अधिवेशनमा कुल १ हजार ७२३ जना क्षेत्रीय प्रतिनिधिमध्ये १ हजार २६४ जना मात्रै सहभागी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ।
वडा अधिवेशनबाट चयनमध्ये ४५९ जना प्रतिनिधि अनुपस्थित भएका हुन्। यो कुल प्रतिनिधिको करिब २६ प्रतिशत हो।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि तथा प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ का कार्यसमिति चयन गरिएको थियो।
पार्टीको नेतृत्व छनोट र संगठन निर्माणका दृष्टिले महत्त्वपूर्ण मानिने अधिवेशनमा ठूलो संख्यामा प्रतिनिधि अनुपस्थित हुनुलाई सामान्य रूपमा मात्र लिन नसकिने कांग्रेसभित्रका जानकारहरूको बुझाइ छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न भएको थियो। सोही अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिका रूपमा चुनिएका कार्यकर्ताहरू नेतृत्व चयन प्रक्रियामा सहभागी भएका थिए। तर, प्रतिनिधि चयन भएको डेढ हप्तामै आयोजित प्रदेश सभा अधिवेशनमा उल्लेख्य संख्यामा उनीहरू अनुपस्थित भएपछि प्रतिनिधिहरूको सहभागिता र पार्टीप्रतिको आकर्षणबारे बहस सुरु भएको छ।
ठूलो संख्यामा प्रतिनिधि अनुपस्थित हुनुको कारणबारे यतिबेला विभिन्न प्रश्न उठेका छन्। उनीहरू व्यक्तिगत तथा व्यावहारिक समस्याका कारण सहभागी हुन नसकेका हुन् वा पार्टीभित्रको आन्तरिक असन्तुष्टि, गुटगत प्रतिस्पर्धा र नेतृत्वप्रतिको असन्तोषले सहभागितामा असर पारेको हो भन्ने विषय चासोको केन्द्रमा छ।
नेपाली कांग्रेसभित्र दुई पक्षबीचको प्रतिस्पर्धा तथा अधिवेशन प्रक्रियालाई लिएर देखिएका मतभेदले पनि प्रतिनिधिहरूको सहभागितामा प्रभाव पारेको हुन सक्ने अनुमान गरिएको छ।
खोटाङमा कांग्रेसका दुई धारले छुट्टाछुट्टै अधिवेशन गरेका कारण पनि केही प्रतिनिधि सहभागी नभएको हुन सक्ने आकलन गरिएको छ। अधिवेशन पार्टीको नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र होइन, कार्यकर्तालाई संगठनसँग जोड्ने, आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने र पार्टीको भावी दिशा तय गर्ने अवसरसमेत हो।
यस्तो प्रक्रियामा प्रतिनिधिहरूको उल्लेख्य अनुपस्थिति हुनु संगठन परिचालनमा देखिएको कमजोरी हो वा पार्टीभित्रको राजनीतिक असन्तुष्टिको संकेत हो । वडा अधिवेशनबाट चयन भएका प्रतिनिधि डेढ हप्तापछि भएको प्रदेश सभा अधिवेशनसम्म किन कायम रहन सकेन भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ।
आखिर वडा अधिवेशनबाट चुनिएका प्रतिनिधि डेढ हप्तामै किन निष्क्रिय देखिए ? अनुपस्थितिको कारण व्यक्तिगत बाध्यता हो, गुटगत विभाजन हो वा नेतृत्व र अधिवेशन प्रक्रियाप्रतिको असन्तुष्टि ? यो गम्भीर विषय बनेको छ ।