खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुको पिप्लेमा बडादसैँ तथा शुभ दीपावलीको अवसर पारेर खुला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
उजेन पेमा छोलिङ बौद्ध गुम्बा र तामाङ घेदुङ परिवार पिप्लेको संयुक्त आयोजनामा महादेवस्थान पोखरीटार खेलमैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिता असोज २९ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मुनु तामाङले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टिमले २० हजार र तेस्रो हुने टिमले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई समेत मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताको उद्घाटन जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धाबाट गरिएको थियो। उद्घाटन खेलमा कर्मचारीको टोली विजयी भएको आयोजकले जनाएको छ।
खेलकुदका माध्यमबाट युवाबीच आपसी सद्भाव, मित्रता, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगिताले चाडपर्वका अवसरमा स्थानीय समुदायलाई एकताबद्ध गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खेलकुदसँगै स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले खुला नृत्य प्रतियोगितासमेत आयोजना गरिने आयोजकले जनाएको छ।
भलिबल प्रतियोगिताको उद्घाटन दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भूपेन्द्र बस्नेतले ब्यानर पढेर गरेको जनाइएको छ।