मंगलवार, कार्तिक ११ गते २०८३

साविक वडास्तरीय भलिबलको उपाधि सापातेललाई

साविक वडास्तरीय भलिबलको उपाधि सापातेललाई

रोदिक खबर

३०, आश्विन २०८३
  • 960
    SHARES
  • साविक वडास्तरीय भलिबलको उपाधि सापातेललाई

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुको पिप्लेमा आयोजित खुला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सापातेल–७ ले जितेको छ। प्रतियोगितामा तामाङ घेदुङ परिवार पिप्ले दोस्रो भएको छ भने छोरम्बु र धिप्लुङ सेमिफाइनललिस्ट भएका छन्।

    बडादसैँ तथा शुभ दीपावलीको अवसर पारेर उजेन पेमा छोलिङ बौद्ध गुम्बा र तामाङ घेदुङ परिवार पिप्लेको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। महादेवस्थान पोखरीटार खेलमैदानमा भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको आयोजक समितिका संयोजक मुनु तामाङले जानकारी दिए। प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए।

    IMG-20261016-WA0021.jpgप्रतियोगिताको विजेता सापातेल–७ ले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।त्यस्तै, उपविजेता तामाङ घेदुङ परिवार पिप्लेले नगद २० हजार रुपैयाँ र तेस्रो हुने टिमले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

    प्रतियोगितामा सापातेलका बेशिक भुजेल उत्कृष्ट खेलाडी घोषित भए भने छोरम्बुका राजिप तामाङले अनुशासित खेलाडीको उपाधि प्राप्त गरे।

    दुवैलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धाबाट गरिएको थियो।

    खेलकुदका माध्यमबाट युवाबीच आपसी सद्भाव, मित्रता, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सदस्य सम्भु तामाङले जानकारी दिए।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगिताले चाडपर्वका अवसरमा स्थानीय समुदायलाई एकताबद्ध गर्न र खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने जनाइएको छ।

    खेलकुदसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले खुला नृत्य प्रतियोगितासमेत आयोजना गरिएको आयोजकले जनाएको छ।

    जसमा डेनिसा तामाङ र विस्मना तामाङको जोडी प्रथम, स्नेहा राई र सुनिता राईको जोडी द्वितीय, नेहा तामाङ तृतीय र विस्पना तामाङ सान्त्वना भएको जनाइएको छ । उनीहरुले क्रमश: दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय प्राप्त गरेको आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ३०, २०८३ शुक्रवार - २०:०७:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको