विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाबाट थप उपचारका लागि ल्याइएका कनकाई–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उपचारका लागि विराटनगर ल्याइएका संक्रमितको एम्बुलेन्सबाट झारेर अस्पताल टेकाउन नपाउँदै राति १०ः४५ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण मृतकमा देखिएको अस्पतालले जनाएको छ । भदौ ८ गते कोरोना पुष्टि भएपछि झापाकै मेची अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था बिग्रदै गएका कारण पुरुषलाई थप उपचारका लागि विराटनगर ल्याइएको बस्नेतले बताए ।
उनका अनुसार ल्याइपुर्याउन साथ मृत्यु भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर संक्रमितको थप उपचार गर्न पाइएन ।
‘स्वास्थ्य अवस्था खराब भएकाले थप उपचारका लागि विराटनगर ल्याइएको रहेछ,’ चिकित्सकलाई उद्रित गर्दै बस्नेतले भने, ‘तत्काल कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गर्न एम्बुलेन्सबाट झार्दाझार्दै मृत्यु भएपछि संक्रमितको उपचार नै हुन पाएन ।’ उनले पुरुषमा कुनै दीर्घ रोग भए/नभएको बारेमा केही जानकारी प्राप्त भइनसकेको जानकारी दिए ।