विराटनगर । कोरोना भाइरस संक्रमित पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान ४ बजेतिर मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।
उनलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याएको सिग्देलको भनाइ छ ।
आठ दिनदेखि भेन्टिलेटरको माध्यमबाट उपचार जारी राखेर धेरै पटक सीटीआर गर्दै कृतिम श्वासप्रश्वास दिइएपनि संक्रमित पुरुषलाई बचाउन नसकिएको डा. सिग्देलको भनाइ छ । उनका अनुसार एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वासमा धेरै समस्या थियो ।
उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६८ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा १९ महिला र ४९ पुरुष छन् ।