खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाकै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका १०३ वर्षीय छबिलाल नेपालीलाई सम्मान गरेको हो ।
नगरपालिकाभरीकै ज्येष्ठ नागरिकका रुपमा नेपालीलाई सुस्वास्थ्य एबं दिर्घायूको कामना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकानगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल, वडाध्यक्ष दिनेश राई लगायतले दोसल्ला ओढाएर २० हजार नगद र सम्मान–पत्र प्रदान गरेका छन् । नेपालीलाई सम्मान गर्नका लागि नगरप्रमुख रिजालको टोली दम्कु पुगेको थियो ।
उनलाई केही समयअघि वडा कार्यालय बुईपाले पनि खादा ओढाएर सम्मान गरेको थियो । सय वर्ष नाघेका छबिलाललाई सामाजिक सुरक्षा भत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडाध्यक्ष राईले बताए ।
बिक्रम संबत १९७५ साल बैशाख १५ गते जन्मिएका छबिलाल शारीरिक रुपमा अझै पनि सक्रिय छन् । कान कम सुनेपनि उनी अझै स्पष्ट बोल्न र देख्न सक्छन् ।
‘उहाँ यो उमेरमा पनि क्रियासिल हुनुहुन्छ । खास रोग पनि देखिएको छैन,’ वडाध्यक्ष राईले भने, ‘नृत्यकर्म आफै गर्नुहुन्छ । हिँडडुल देखि घरका सामान्य काममा सरसघाउ समेत गर्नुहुन्छ ।’ छबिलालका ४ छोरा र २ छोरी छन् ।