• ट्रेण्डिङ:

केपीलासगढी गाउँपालिकामा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता 

केपीलासगढी गाउँपालिकामा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता 

रोदिक खबर

१६, आश्विन २०७७
  • 4.7K
    SHARES
  • केपीलासगढी गाउँपालिकामा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता 

    खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी थालेको छ । आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गत साउन ३२ गते पत्राचार गरेपछि गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी थालेको हो । 

    सामाजिक सुरक्षाभत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावट रहित र व्यवस्थित बनाउनका लागि चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि दुई वडाका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नेगरी तयारी थालिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।

    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक कागजात लिएर दावी बिरोधका लागि पञ्जिकरण शाखामा सम्पर्क गर्न सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीलाई आग्रह गरेको छ । दावी बिरोधका लागि गाउँपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीको नामावली गाउँपालिका र सम्वन्धित वडा कार्यालयमा प्रकाशन गरिएको अध्यक्ष राईले बताए । 

    गाउँपालिकाका ७ वटा वडामध्ये सुरुमा केपीलासगढी गाउँपालिका–४ बाक्सिला र केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका लाभग्राहीलाई बैंकमार्फत सामाजिक भत्ता वितरणको तयारी गरिएको छ । त्यसपछि क्रमशः अन्य वडाका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकामा आगामी मंसिरमा सामाजिक सुरक्षा भत्ताको दोश्रो चौमासिक रिलिज हुँदैछ । गाउँपालिकाको गत भदौ ११ गतेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको थियो ।

    सामाजिक सुरक्षाभत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावट रहित र व्यवस्थित बनाउन नेपाल सरकारको नीति अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि नै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न पहल हुँदै आए पनि अधिकांश स्थानीय तहमा यसको कार्यान्वयन हुन सकेको छैन । 

    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १६:३४:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको