काठमाडौं । बितेको २४ घण्टामा नेपालमा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् । यस्तै बितेको २४ घण्टामा थप ३ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ७३.६ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार २३४ रहेको मन्त्रालयले जनाएको छ । ति मध्ये होम आईसोलेसनमा ११ हजार ७६० जना र संस्थागत आईसोलेसनमा ९ हजार ४७४ जना छन् । तिमध्ये २५० जना संक्रमितको आईसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८८५ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् । कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५२० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् ।
हिजो (बिहीवार) नेपालमा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको थियो । ९६१ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।