अर्घाखाँची। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको छ ।
‘प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण गरिएको थियो । बिहीबार साँझ उहाँको रिपोर्ट पोजेटिभ आएको हो,’ सहायक प्रजिअ विनोद खनालले भने, ‘अहिले उहाँको स्वास्थ्यमा कुनै समस्या छैन । उहाँ होम आइसोलेसनमा बस्नु भएको छ ।’ सहायक प्रजिअ थापामा भने कुनै लक्षण नदेखिएको उनले बताए ।
प्रजिअ पौडेलले शुक्रबार एक सूचना जारी गर्दै भनेका छन्, ‘विगत केही दिनदेखि जिल्लामा उत्पन्न विपद्जन्य घटनाहरुको उद्धार, राहत र पुनःस्थापना लगायतका कार्यहरुमा दिनरात नभनी खटिँदा खटिँदै हामी कोरोना संक्रमति हुन पुगेका छौं । हामी कामको शिलशिलामा विभिन्न महानुभावहरुको सम्पर्कमा पुगेका पनि थियौं ।
हामीसँग सपर्कमा आउनुभएका महानुभावहरुलाई संयमित भई उच्च मनोवलका साथ स्वास्थ्य मापदण्ड पालना गरी कोभिड १९ विरुद्ध उच्च सर्तकता अपनाउनु हुन विनम्र अनुरोध गर्दछौं ।’ प्रशासन कार्यालयबाट हुने अत्यावश्यक सेवाहरु भने निरन्तर सञ्चालन हुने सूचनामा उल्लेख छ ।
