चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको हो ।
आज बिहान करिब ५ बजे सडकबाट झण्डै ८० फिट तल खसेको ट्रकको आधा भाग पानीमा डुबेको छ ।
दुर्घटनामा परी घाइते हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको छ ।