खोटाङ । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला खोटाङको दिक्तेलबजारमा ‘तपाईको मास्क खै ?’ अभियानले निरन्तरता पाएको छ ।
लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास बढेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग बाणिज्य संघले संयुक्त रुपमा सुरु गरेको ‘तपाईको मास्क खै ?’ अभियानलाई निरन्तरता दिइएको हो ।

साविकको सदरमुकाम दिक्तेलमा कोरोनाबाट बच्न र बचाउनका लागि अभियान सञ्चालन भइरहँदा गाउँमा भने राजनैतिक दलले भने भीडभाड जम्मा पारेर संक्रमणको जोखिम निम्त्याइरहेको छ ।
लकडाउन खुलेपछि स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतना जगाउन दिक्तेलमा गत साउन २१ गतेदेखि संयुक्त रुपमा अभियान थालिएको हो । अभियानलाई प्रायः हरेक शनिबार सञ्चालन गर्दैआइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति कुमारसिं बस्नेतले बताए ।
चेतनामुलक ¥यालीमा निस्किएको टोलीले सचेतनामूलक ब्रुसर तथा मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका छन् ।

यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए ।
बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको जनाइएको छ । अभियानकर्मीले ‘तपाईको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएको दृश्य देखिएको थियो ।
¥यालीमा सहभागीले ‘तपाईको मास्क खै, मास्कको नियमित प्रयोग गरौं, भौतिक दुरी कायम गरौं÷गराऔं, भिडभाड नगरौं, भीडमाडमा नजाऔं, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश लेखिएको प्लेकार्ड बोकेका थिए । जिल्लाका अन्य स्थानी तहमा समेत ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन भइरहेको छ ।
