खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा दुई जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला र एक पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो ।
माईती घर बिराटनगर पुगेर ९÷१० दिनअघि घर आएकी एक महिला र काठ्माण्डौंबाट घर आएका पुरुषलाई कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताए ।
महिला घर आएको पाँच दिनपछि बिराटनगरमा रहेका भाईलाई कोरोना पोजिटिभ पूष्टी भएपछि पिसिआर परिक्षणका लागि उनको असोज १५ गते स्वाव संकलन गरिएको थियो । संक्रमित महिलाका परिवारका अन्य सदस्यको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ देखिएको जनाइएको छ ।
संक्रमण पूष्टी भएका दुबै जनालाई होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए । उनीहरुलाई घर आएदेखि नै होम क्वारेन्टीनमा राखिएको बताइएको छ ।
पूरुषको परिवारका अन्य सदस्यको भने पिसिआर परिक्षण गरिएको छैन । कन्ट्याक्ट ट्रेसिङका आधारमा पुरुषका परिवारको पिसिआर परिक्षण गरिने पोखरेलको भनाई छ ।
संक्रमित पुरुषसँगै आएका अन्य दुई जनाको भने पहिचान भएको छैन । पिसिआर परिक्षणका लागि स्वास संकलन गरिएको र परिक्षणमा पठाइएको विषयमा पुर्वजानकारी नदिइएको भन्दै कतिपय स्थानीयले भने असन्तुष्टी जनाइरहेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।