• ट्रेण्डिङ:

म्याद गुज्रिदा शहरी खानेपानी आयोजनाको काम ६७ प्रतिशत 

म्याद गुज्रिदा शहरी खानेपानी आयोजनाको काम ६७ प्रतिशत 

रोदिक खबर

१९, आश्विन २०७७
  • 3.3K
    SHARES
  • म्याद गुज्रिदा शहरी खानेपानी आयोजनाको काम ६७ प्रतिशत 

    सम्झौता म्याद गुज्रिदा खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम ६७ प्रतिशत मात्र पुरा भएको छ । १८ महिनाभित्र दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ साल चैत १४ गतेदेखि सुरु गरिएको योजनाको काम अझै ३३ प्रतिशत बाँकी देखिएको छ ।

    २०७७ साल असोज ११ गतेसम्ममा पूरा गर्ने गरी २०७५ साल चैत १३ गते सम्झौता गरेको निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिले आयोजनाको काम हालसम्म करिब ६७ प्रतिशत मात्र पुरा गरेको हो ।

    सम्झौता म्यादभित्र आयोजनाको काम सम्पन्न नभएपछि गत असोज ११ गतेदेखि पाँच महिनाको म्याद थप गरिएको निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिका साईडइन्चार्ज शान्त श्रेष्ठले बताए । थप म्याद अनुशार आयोजनाको काम आगामी फागुन ११ गतेसम्ममा पुरा गर्नुपर्ने हुन्छ । 

    बढ्दो शहरीकरणका कारण दिक्तेलबजारमा बढ्दो खानेपानीको अभाव हल गर्नका लागि नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २७ करोड २६ लाख ४४ हजार ७९८ रुपैयाँको लागतमा पुरा गर्नेगरी आयोजनाको काम थालिएको हो ।

    रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १ हजार ४९ घर स्थानीयलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरिय खानेपानी उपलव्ध गराउने लक्ष्यकासाथ आयोजनाको काम सुरु गरिएको हो । 

    हाल आयोजनाको लागि निगाले र अल्छेढुंगामा पानी प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र), दिक्तेल क्याम्पसभन्दा माथि थामखोरेडाँडामा १७५ घनमिटर र हाटडाँडामा ५० हजार घनमिटरको पानी संकलन गर्ने ट्यांकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    यस बाहेक १८ किलोमिटर लामो मुख्य पाईपलाईनको काम पनि भइरहेको निर्माण कम्पनीले जनाएको छ । रम्बा खोला र माझखोलाबाट ल्याइएको पानी थामखोरेडाँडामा निर्माण गरिने १५० घरमिटर र बेसक्याम्पमा निर्माण गरिने १५० घरमिटरको ट्यांकीमार्फत टोलमा पानी वितरण गर्ने तयारी गरिएको छ ।

    यस्तै, काउले मुहानको पानीलाई अल्छेढुंगामा प्रशोधन गरेर हाटडाँडामा निर्माण गरिने ५० हजार घनमिटरको ट्यांकीमा जम्मा गरेर वितरण गर्ने तयारी गरिएको रम्वा खोला–माझ खोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धनकुमार जोशीले बताए । 

    आयोजनाका लागि नेपाल सरकारको १९ करोड ८ लाख ५१ हजार ३५८ र उपभोक्ता समितिको ८ करोड १७ लाख ९३ हजार ४३९ रुपैयाँ खर्च हुने छ । ५ प्रतिशत रकम आफैबाट उठाएको उपभोक्ता समितिले २५ प्रतिशत रकम भने नगर विकास कोषबाट ऋण लिएको जनाएको छ । आयोजना अन्तरगत समितिको कार्यालय, ८ वटा अग्नी नियन्त्रण प्वइन्ट लगायतका संरचना निर्माण गरिने छ ।

    जनसंख्या बृद्धिका कारण एक/दुई दशकपछि दिक्तेलमा पानीको समस्या निम्तिने खतरालाई मध्यनजर गर्दै दिक्तेलबजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर शुद्ध एबं मापदण्ड अनुशारको पानी विस्तार गर्ने लक्ष्यकासाथ आयोजनाको काम अघि बढाइएको हो ।

    आयोजनाबाट दैनिक प्रतिव्यक्ती ७५ लिटर पानी उपलव्ध गराउने लक्ष्य राखिएको शहरी खानेपानी तथा सरसफाई आयोजनाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १४:३०:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको