जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगादेखि जुनीचाँदेस्थित काफ्लाचौर जाँदै गरेको गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ। भे १ ज ९३५ नम्बरको गाडी जुनीचाँदे–१, औवलखोलामा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो।
जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अम्मरबहादुर शाही, सोही वडाका कीर्तिबहादुर शाही, खेमबहादुर शाही, जुनीचाँदे–५, मटेलाकी मालिका बस्नेत र सोही वडाका कृष्णबहादुर शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार गाडी सडकभन्दा करिब पाँचछ सय मिटरमुनि खसेको छ।
बास्तोला अनुसार दुईजना बेपत्ता छन् भने एकजना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ । अहिले प्रहरी र स्थानीय उद्धार कार्यमा लागेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।