बिहिवार, कार्तिक १३ गते २०८३

खानेपानी आयोजनामा चरम लापरवाही

खानेपानी आयोजनाको ट्यांकी निर्माणमा प्राविधिक त्रुटी, ट्यांकी नै कोल्टो 

खानेपानी आयोजनाको ट्यांकी निर्माणमा प्राविधिक त्रुटी, ट्यांकी नै कोल्टो 

रोदिक खबर

२४, आश्विन २०७७
  • 4.1K
    SHARES
  • खानेपानी आयोजनाको ट्यांकी निर्माणमा प्राविधिक त्रुटी, ट्यांकी नै कोल्टो 

    खोटाङ ।  खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्यांकी निर्माणमा प्राविधिक त्रुटी भएको देखिएको छ । साविकको सदरमुकाम दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ सुरु गरिएको करोडौंको योजनाको ट्यांकी निर्माणमा प्राविधिक त्रुटी भएको पाइएको हो ।

    दिक्तेल बहुमुखी क्याम्पसभन्दा केहीमाथि थामखोरेडाँडामुनि निर्माणााधिन १७५ घनमिटर क्षमताको ट्यांकी उत्तरतर्फ ढल्किएको देखिन्छ । ट्यांकीको आधा भाग कमजोर जगमाथिबाट उठाइएकाले ट्यांकी कोल्टिएको अनुमान गरिएको छ । 

    निर्माणाधिन ट्यांकीको केही ठाउँबाट पानी चुहिने गरेको पाइएको छ । फिनिसिङको काम पुरा नहुँदै हाल सोही ट्यांकीमा पानी संकलन गरेर बजारमा वितरण गर्ने व्यवस्था मिलाइएको छ । ट्यांकीभित्रको काठका टुक्रा, बाँसको भ¥याङ, फोहोरमैला नहटाइ पानी जम्मा गरेर वितरण भइरहेको स्थानीयको गुनासो छ ।

    k.jpg

    जमिनभन्दा एक÷दुई मिटरमुनिबाट ट्यांकीको जग उभ्याउन भनिए पनि निर्माण कम्पनीले जमिनमाथि सोलिङ गरेर त्यहीमाथि ट्यांकी निर्माण गरेको स्थानीय बताउँछन् । ट्यांकी निर्माणमा भएको त्रुटीका विषयमा ‘कम्प्लेन्ट’ आएकाले प्राविधिक सहित निरीक्षण गर्ने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    ‘ट्यांकी निर्माणमा समस्या भएको गुनासो नगरपालिकासम्मै आएको छ,’ नगरप्रमुख रिजालले भने, ‘यस विषयमा प्राविधिक सहित गएर निरीक्षण गर्ने तयारी गरिरहेका छौँ ।’ 

    १८ महिनाभित्र दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ साल चैत १४ गतेदेखि दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम सुरु गरिएको हो ।

    रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १ हजार ४९ घर स्थानीयलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरिय खानेपानी उपलव्ध गराउने लक्ष्य राखिएको छ ।

    kkk.jpg

    बढ्दो शहरीकरणका कारण दिक्तेलबजारमा बढ्दो खानेपानीको अभाव हल गर्नका लागि नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २७ करोड २६ लाख ४४ हजार ७९८ रुपैयाँको लागतमा पुरा गर्नेगरी आयोजनाको काम थालिएको रम्वा खोला–माझ खोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धनकुमार जोशीले बताए ।

    आयोजनाको काम २०७७ साल असोज ११ गतेसम्ममा पूरा गर्ने गरी २०७५ साल चैत १३ गते सम्झौता गरिएको थियो । आशिष निर्माण सेवा प्रालिले म्याद गुज्रिदासम्ममा आयोजनाको काम ६७ प्रतिशत मात्र पुरा गरेको छ । सम्झौता म्यादभित्र आयोजनाको काम सम्पन्न नभएपछि गत असोज ११ गतेदेखि पाँच महिनाको म्याद थप गरिएको छ ।

    ट्यांकीलाई जमिनमा गाडेर बनाउन भनिए पनि निर्माण कम्पनीले आफूखुसी काम गरेको अध्यक्ष जोशीले बताए । जमिनमाथि सोलिङ गरेर ट्यांकी निर्माण गरिएको आवाज उठेपछि निर्माण ट्यांकीको फेदमा चारैतिर माटो थुपारेर सोलिङ ढाकिएको स्थानीयको आरोप छ ।

    निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिका साईडइन्चार्ज शान्त श्रेष्ठले भने ट्यांकी निर्माणमा सामान्य प्राविधिक कमजोरी भएको बताए । ट्यांकीको फिनिसिङको काम पुरा गर्न बाँकी रहेकाले ट्यांकी ढल्किएजस्तो देखिएको श्रेष्ठको दाबी छ । 

    हाल आयोजनाको लागि निगाले र अल्छेढुंगामा पानी प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र), दिक्तेल क्याम्पसभन्दा माथि थामखोरेडाँडामा १७५ घनमिटर र हाटडाँडामा ५० हजार घनमिटरको पानी संकलन गर्ने ट्यांकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    यस बाहेक १८ किलोमिटर लामो मुख्य पाईपलाईनको काम पनि भइरहेको निर्माण कम्पनीले जनाएको छ । रम्बा खोला र माझखोलाबाट ल्याइएको पानी थामखोरेडाँडामा निर्माण गरिने १५० घरमिटर र बेसक्याम्पमा निर्माण गरिने १५० घरमिटरको ट्यांकीमार्फत टोलमा पानी वितरण गर्ने तयारी गरिएको छ ।

    यस्तै, काउले मुहानको पानीलाई अल्छेढुंगामा प्रशोधन गरेर हाटडाँडामा निर्माण गरिने ५० हजार घनमिटरको ट्यांकीमा जम्मा गरेर वितरण गर्ने तयारी गरिएको अध्यक्ष जोशीले बताए । 

    आयोजनाका लागि नेपाल सरकारको १९ करोड ८ लाख ५१ हजार ३५८ र उपभोक्ता समितिको ८ करोड १७ लाख ९३ हजार ४३९ रुपैयाँ खर्च हुने छ । ५ प्रतिशत रकम आफैबाट उठाएको उपभोक्ता समितिले २५ प्रतिशत रकम भने नगर विकास कोषबाट ऋण लिएको जनाएको छ ।

    आयोजना अन्तरगत समितिको कार्यालय, ८ वटा अग्नी नियन्त्रण प्वइन्ट लगायतका संचना निर्माण गरिने छ । जनसंख्य बृद्धिका कारण एक/दुई दशकपछि दिक्तेलमा पानीको समस्या निम्तिने खतरालाई मध्यनजर गर्दै दिक्तेलबजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर शुद्ध एबं मापदण्ड अनुशारको पानी विस्तार गर्ने लक्ष्यकासाथ आयोजनाको काम अघि बढाइएको हो ।

    आयोजनाबाट दैनिक प्रतिव्यक्ती ७५ लिटर पानी उपलव्ध गराउने लक्ष्य राखिएको शहरी खानेपानी तथा सरसफाई आयोजनाले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १४:५२:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको